काठमाडौं : सवारी दुर्घटनामा परी बारामा चार जनाको मृत्यु भएको छ । आइतबार राति र सोमबार बिहान भएको दुईवटा छुट्टाछुट्टै दुर्घटनामा परी चार जनाको ज्यान गएको हो ।
बाराको अमलेखगन्जमा ट्रकको ठक्करबाट आज सोमवार बिहान मोटरसाईकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।
चितवनबाट बारातर्फ आउँदै गरेको मोटरसाईकललाई सोही दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको हो ।
अमलेखगञ्ज स्थित दुई नम्बर पुल नजिक भएको दुर्घटनामा परी बारागढी गाँउपालिका १ का २६ वर्षीय देवेन्द्र चौधरी र उनकी पत्नी नन्द चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अम्लेखगञ्जले जनाएको छ ।
बा.प. ०३–००४ प १५१७ मोटरसाईकललाई सोही दिशाबाट आइरहेको ना ७ ख ३९४८ नम्बरको लहरी ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि सडकमा लडेका उनीहरुलाई सोही ट्रकले किचेको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु भएका उनीहरुको शव परीक्षणका लागि कलैया अस्पताल लगिएको छ भने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जनाएका छन् ।
यस्तै बाराको महागढीमाई नगरपालिका ८ स्थित थलही पुलबाट आइतबार राती मोटरसाईकल खस्दा दुई जनाको मृत्यु भएको छ ।
बरियापुरबाट लंगडा चोकतर्फ जाँदै गरेको बा प २–०३–००४ प. ७९३४ नम्बरको मोटरसाईकल राती १०ः ३० बजे पुलबाट तल खस्दा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुवर्ण गाँउपालिका ७ का ३५ वर्षिय विरुलाल यादव र भारत मोतिहारी पूर्वी बिहार चम्पारण समरपुर २ का ३० वर्षिय मेवाचन्द्र राय यादव रहेका छन् ।
तपाइँको प्रतिक्रीया