काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले युरिया मलको साटो नानो युरिया प्रयोग गर्न सकिने बताएका छन् ।
संसदमा रासायनिक मलको अभावका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफमा उनले विश्व बजारमा मलको संकट भएपछि भारतमा नानो युरियाको उत्पादन बढिरहेको र नेपालमा पनि ५ लाख लिटर आयात गर्ने सहमति भएको बताए ।
“भारत सरकारले ५ लाख लिटर दिने निर्णय भएको छ, नेपाल कृषि अनुसन्धान परिषद् नार्कले पनि त्यसको परीक्षण गरेर युरिया मलको समान नै नाइट्रोजन भएको प्रमाणित गरिसकेको छ,” उनले भने, “नानो युरिया तरल रूपमा उपलब्ध हुन्छ, जुन माटोमा हैन विरुवामा स्प्रे गर्न सकिन्छ, भारतमा यो धेरै लोकप्रिय भएको छ ।
त्यसले भारतमा युरिया प्रयोगमा धेरै न्यूनीकरण गरेको छ ।”नानो युरियाको प्रतिलिटरको ८०० रुपैयाँ पर्ने उनले बताए ।
भारतले निकासीको लागि स्वीकृति दिएपछि ६१ हजार लिटर नेपाल आइसकेको उनले बताए । उनले नानो युरिया एक लिटरले १ बिघामा पुग्ने बताए ।
“हामीले ५० लाख लिटर माग गरेका छौँ, ५ लाख लिटर आएपछि निरन्तरता दिने सर्तमा आयात गरिएको हो,” उनले भने, “यसले युरियाको खपत न्यूनीकरण गर्छ ।”
तपाइँको प्रतिक्रीया