लमजुङ : उपभोक्ता हित संरक्षण मञ्च लमजुङद्वारा सडक र सवारी उपभोक्तालाई सहजसेवा उपलब्ध गराउन जिल्ला स्थित सम्बन्धित सरोकारवालाहरूमा अपिल गरेको छ ।
मञ्चका तर्फबाट सोमबार प्रमुख जिल्ला अधिकारी सुशील वैद्य समक्ष अपिलपत्र बुझाउँदै सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयमार्फत सरोकारवालाहरूमा अपिल गरिएको हो ।
उपभोक्ता हित संरक्षण मञ्च लमजुङका अध्यक्ष किसान संगीत र कोषाध्यक्ष सुरेश प्रधानले प्रमुख जिल्ला अधिकारी वैद्यलाई अपिल पत्र बुझाउनु भएको थियो। शनिबार राती परेको अविरल वर्षासँगै गएको पहिरोले डुम्रे बेसीशहर सडकखण्डको बेसीशहर नगरपालिका(१ उदीपुर देउरालीडाँडामा पैदलयात्रु समेत आवतजावत गर्न नमिल्ने गरी सडक बगाएर उपभोक्ताले सास्ती भोग्नु परेपछि उपभोक्ताका पक्षमा मञ्चले सरोकारवालाहरूमा आग्रह गरेको अध्यक्ष संगीतले बताए ।
मुख्य सडक पहिरोले बगाएपछि जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधन र यात्रुको आवागमन ठप्प भएकाले यथाशीघ्र वैकल्पिक व्यवस्था गरेर आवतजावत सहज बनाउन आग्रह गरिएको उनले जानकारी गराएका थिए । मञ्चले उठाएका विषयमा प्रजिअ सुशील वैद्यले जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति, स्थानीय पालिका लगायतको समन्वयमा काम अघि बढाइसकिएको आफूहरूलाई बताएको पनि अध्यक्ष संगीतले बताए ।
लमजुङ मात्रै नभई मनाङ जिल्लाको समेत लाइफलाइन मानिएको डुम्रे बेसीशहर सडकमा यातायात सेवा अवरुद्ध हुँदा सडक र सवारी सँग सम्बन्धित हजारौं उपभोक्ता प्रत्यक्ष मर्कामा परेको अपिल पत्रमा उल्लेख गरिएको छ ।
लामो समय सडक अवरुद्ध भएको अवस्थामा उपभोक्ताले भोग्नुपर्ने सास्ती झन्झ न् बढ्दै जाने र त्यसले उपभोक्ताको दैनिक जीवनयापनमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावनाले मञ्चलाई चिन्तित बनाएको अपिल पत्रमा उल्लेख छ ।
गर्भवती तथा सुत्केरी महिला, बिरामी लगायत अत्यावश्यक कामकाजले हिँड्नु पर्ने सर्वसाधारणको आवतजावत र औषधी, खाद्यान्न, दूध, तरकारी, पानी जस्ता अत्यावश्यक वस्तुको ढुवानीलाई सहज बनाउन मञ्चले अपिल पत्र मार्फत सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।
संघीय सरकार, प्रदेश सरकार सँगै जिल्ला स्थित राजनीतिक दल, जिल्ला समन्वय समिति, प्रशासन, स्थानीय तह, सुरक्षा समिति, उद्योगी व्यवसायी, अधिकारकर्मी, सञ्चारकर्मी, उपभोक्ता प्रतिनिधि लगायतका सरोकारकर्मीले यस विषयमा उचित समन्वय गर्नुपर्ने मञ्चले जनाएको छ ।
सडकको अन्य स्थानमा समेत सडक बगाएको र भासिएको कारण सवारी आवागमनमा समस्या उत्पन्न भएकाले सहज बनाउनु पर्ने अवस्था प्रति गम्भीरताका साथ लाग्न आग्रह गरिएको छ ।
त्यससँगै विगत केहि दिनदेखि परेको वर्षाका कारण जिल्लाका धेरै ठाउँमा गएको बाढी र पहिरोले सयौं व्यक्ति पीडित बनेकाले उनीहरूको उचित सुरक्षा, सुरक्षित बास र क्षतिपूर्तिका विषयमा पनि गम्भीरताका साथ अघि बढ्न समेत उपभोक्ता हित संरक्षण मञ्चले सम्बन्धित सबैमा अपिल गरेको छ ।
तपाइँको प्रतिक्रीया