काठमाडौं : कोलम्बो श्रीलंकाले इन्धनको भाउ बढाएको छ । सरकारसँग वार्ताका लागि अमेरिकी अधिकारीहरू आएकै समयमा सरकारले इन्धन मूल्यवृद्धिको घोषणा गरेको हो ।
सरकारी तेल कम्पनी सिलोन पेट्रोलियम कर्पोरेशन सीपीसीले आइतवार डिजेलको भाउ १५ प्रतिशतले बढाएर प्रतिलिटर ४६० रुपी पुर्याएको छ । पेट्रोल पनि प्रतिलिटर २२ प्रतिशतको वृद्धिसहित ५५० रुपी कायम गरिएको छ । ऊर्जामन्त्री कन्चना विजेसेकेराले तेलको नयाँ ढुवानी असीमित समयसम्म ढिलाइ हुन सक्ने बताएको एक दिनलगत्तै सो कदम चालिएको हो ।
गत हप्ता विजेसेकेराले सरकारसँग विदेशबाट इन्धन किनेर ल्याउन डलर नभएको भन्दै आगामी हप्ता आउने भनेको तेल नआउने बताएका थिए । उनले सवारी धनीहरूसँग माफी माग्दै पेट्रोल पम्पबाहिर लामो लाइनमा नबस्न अनुरोध पनि गरेका थिए । श्रीलंकासँग मौज्दातमा करीब दुई दिनलाई मात्रै पुग्ने इन्धन भएको र यसलाई अत्यावश्यक सेवाका लागि जोगाएर राखिएको सरकारी स्रोतहरूले बताएका छन् ।
श्रीलंकासँग वार्ता गर्न अहिले अमेरिकी अर्थमन्त्रालय र विदेश मन्त्रालयका प्रतिनिधि टोली कोलम्बोमा आएको छ । यस वार्तामा अहिलेको आवश्यकताको घडीमा श्रीलंकालीहरुलाई अमेरिकाले कसरी सबैभन्दा प्रभावकारी तवरले सहयोग गर्न सक्छ भनेर छलफल हुने कोलम्बोस्थित अमेरिकी दूतावासले बताएको छ ।
तपाइँको प्रतिक्रीया