काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको पहिचान र उत्पादनमा हाम्रो लगाव कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
७१ औँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले बुधवार शितल निवासमा आयोजित एक कार्यक्रममा उनले पछिल्ला वर्षहरूमा नेपालको कृषि क्षेत्र नाश हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।
आफू पनि किसान परिवारबाट आएको व्यक्ति बताउँदै राष्ट्रपति भण्डारीले नेपालको कृषि क्षेत्रको व्यापक सुधार आजको खाँचो भएको बताइन् । उनले भनिन्,‘म पनि किसान परिवारबाटै आएको हुँ, मलाई कृषि पेशाका धेरै समस्याहरू थाहा छन्,हाम्रो कृषि क्षेत्रका समस्याहरू सुधार नगरेसम्म हाम्रो उत्पादन प्रणाली राम्रो हुँदैन ।
उनले किसानले पाउनु पर्ने अनुदान झोलामै र खोला पनि झोलामै हुनु आजको समस्या भएको बताइन् । उनले भनिन्, किसानलाई दिनु पर्ने अनुदान पनि झोलामा,खोला पनि झोलामा भएका कारण कृषकहरूलाई समस्या भयो, यसको सुधार गर्न आवश्यक छ ।
उनले नेपालको खाद्य उत्पादन घट्दै जाँदा खाद्यान्नमा पराश्रित हुँदै गइरहेको बताइन् । राष्ट्रपति भण्डारीले अझै पनि मुलुक कृषि प्रधान नै भएको बताउँदै कृषि पेशालाई हेलाको दृष्टिबाट हेर्ने सोच परिवर्तन गर्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्री महेन्द्र राय यादवले कृषि क्षेत्रमा बजेट अपुग भएको बताए । उनले परम्परागत कृषि पेशाबाट हटेर कृषिलाई व्यवसायीकरण गर्नु पर्ने बताए ।
मदन भण्डारी फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष उषा किरण भण्डारी, सह–सचिव रामकृष्ण श्रेष्ठ, सांसद विमला राई पौड्याल लगायतको विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।
तपाइँको प्रतिक्रीया