काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहको बैठक आज विहिवार बस्दै छ।
दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बैठक बोलाइएको छ। आजको बैठकका पार्टीको अन्तरिक र बाह्य विषयमा पनि छलफल हुने नेता गुरुराज घिमिरेले बताए ।
पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टीमा मनोनयन गरेको भन्दै शेखर समूह रुष्ट बनेका छन । पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, नेपाल किसान संघ र आदिवासी जनजाति संघको नेतृत्वमासमेत आफू निकटकै नेतालाई नेतृत्व सुम्पिएपछि कोइराला समूह सभापति देउवासँग असन्तुष्ट छ।
पार्टी विधानअनुसार विभाग तथा समितिहरू गठन गर्न पनि देउवाले आफ्नो पक्षलाई छलफलमा नै सहभागी नगराएर मनोमानी गर्न खोजेको कोइराला समूहको आरोप छ।
देउवाले सभापति निर्वाचित भएको ६ महिनासम्ममा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई पूर्णता दिन सकेका छैनन्।
१४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्न बाँकी छ भने १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा १ सय ४७ जना सदस्य मात्र छन्। सभापति देउवाले २१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ।
यसैगरी, पार्टी विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा हाल ३७ सदस्यमा सीमित छ। २५ सदस्यीय रहने संसदीय बोर्डमा पनि पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र छन्। यस्तै, कांग्रेस विधानमा २८ वटा विभागको व्यवस्था छ।
तपाइँको प्रतिक्रीया