२०८२ असार १२ बिहीबार

राशिफल

सीसीटीभी फुटेज मेटिएको मलाई थाहा छैन : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको बारेमा आफूलाई जानकारी नभएको स्पष्टिकरण दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै उनले आफूलाई सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको बताएका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको भन्दै अर्थमन्त्रीमाथि सार्वजनिक रुपमा प्रश्न उठेको छ ।

त्यस क्रममा उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणको समयको सीसीटीभी फुटेज माग्दै अर्थ मन्त्रालयमा सूचनाको हकसम्बन्धी ऐन अनुसार निवेदन दिएको थियो ।

त्यसको जवाफमा अर्थ मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको बताएको थियो ।

अर्थ मन्त्रालयले संरक्षण गर्नुपर्ने सीसीटीभी फुटेज डिलिट गरेर साइबर अपराध गरेको भन्दै अर्थमन्त्रीमाथि प्रश्न उठेको छ ।

त्यसको जवाफ दिने क्रममा बुधबार अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज डिलिट गर्‍यो भनेर भ्रम छरिएको बताए ।