काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दुई हजार विन्दुमुनि ओर्लिएको छ । यसदिन परिसूचक ३४ दशमलव ७१ अंक घटेर १ हजार ९९२ दशमलव ६१ विन्दुमा झरेको हो । कारोबारमा आएका २१७ धितोपत्रको ३० लाख ६३ हजार ४७६ कित्ता सेयर २० हजार १२२ पटकमा १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ ।
यस हप्ता नेप्से परिसूचक २ हजार १२० दशमलव ७९ विन्दुसम्म पुगेको थियो । बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गरेसँगै बजारमा करेक्सन आएको देखिन्छ । यस साता नेप्से परिसूचक २ दिन बढेको हो भने बाँकी सबैदिन घटेर बन्द भएको छ । आइतबार १९ असारमा नेप्से परिसूचक ५७ दशमलव ६५ अंक बढेको थियो । त्यसपछि बुधबार नेप्से १३ दशमलव ३३ अंक बढेको हो । यद्यपि बजार घटबढ भइरहन्छ । लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानी गरेमा प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
कारोबारमा आएका धितोपत्रमध्ये ग्लोबल आईएमई समुन्नत स्किम १ को इकाइ मूल्य २ दशमलव ८२ प्रतिशत बढेर ९ दशमलव ८५ पुगेको छ । त्यसैगरी नबिल इक्विटी फण्डको इकाई मूल्य २ दशमलव ४६ प्रतिशत बढेर ९ दशमलव ९९ पुगेको छ ।
शुक्रबार सबैभन्दा बढी हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ५ दशमलव ४४ प्रतिशत घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२६ रुपैयाँमा झरेको हो । या सूचीमा दोस्रोमा छ बलेफी हाइड्रोपावर लिमिटेड । कम्पनीको सेयर मूल्य ४ दशमलव ९० प्रतिशत घटेर २३३ रुपैयाँ कायम भएको छ ।
तपाइँको प्रतिक्रीया