२०८२ असार १२ बिहीबार

राशिफल

विराटनगरमा मोटरसाइकलको ठक्करबाट १ को मृत्यु, १ घाइते

काठमाडौं  :  गएराति विराटनगरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ। बालक घाइते भएका छन्।

मोटरसाइकलको ठक्करबाट विराटनगर महानगरपालिका-१५ का ४५ वर्षीय भोला श्रेष्ठको मृत्यु भएको हो। उनले चलाएको साइकललाई तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिएको मोरङ ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार प्रदेश १-०२-०४९ प ६२५८ नम्बरको मोटरसाइकलले विराटनगर-१२ कोसी प्रोजेक्टस्थित भित्री सडकखण्डमा ठक्कर दिँदा भोला र साइकलको पछाडि सवार उनका भतिज १२ वर्षीय सुशान्त श्रेष्ठ गम्भीर घाइते भएका थिए। घाइतेमध्ये भोलाको उपचारका क्रममा राति १२ बजेतिर न्युरो अस्पतालमा मृत्यु भएको कार्कीले बताए।  मृतक भोला सुशान्तका ठूलोबुवा हुन्। घाइते अवस्थाका सुशान्तको न्युरोमै उपचार भइरहेको छ।

दुर्घटनालगत्तै मोटरसाइकल चालक सुनसरी तरहराका अन्दाजी २५ वर्षीय अर्जुन दाहाल फरार बनेको प्रहरीले जनाएको छ। प्रहरीले चालकको खोजी भइरहेको जानकारी दिएको छ।

मोटरसाइकलको पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका–७ का २९ वर्षीय वसन्त सरदार र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।