२०८२ असार १३ शुक्रबार

राशिफल

उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन बन्द

काठमाडौं   :  विद्युत अभावमा उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन बन्द भएको छ ।

उद्योग पूर्णरुपमा सन्चालन हुन ६ मेगावाट विद्युत आवश्यक पर्नेमा हाल दुई मेगावाट मात्र बिजुली आपूर्ति भएकाले सिमेन्ट उत्पादन रोकिएको उद्योगका निमित्त प्रमुख गोपी न्यौपानेले जानकारी दिए ।

उद्योग बन्द हुँदा यो आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको न्यौपानेले बताए । उनका अनुसार हालसम्म २१ लाख बोरा सिमेन्ट भइसकेको छ ।

यही असार ९ गते लहानस्थित टावरमा चट्याङ लागेपछि विद्युत आपूर्ति बन्द भएको थियो । त्यसपछि सोलु करिडोरको लाइनबाट विद्युत आपूर्ति गरिएको छ । तर यो बिजुली २ मेगावाटको मात्र भएकाले सिमेन्ट उद्योग सन्चालन गर्न पुग्दैन ।

नेपाल विद्युत प्राधिकरण र उद्योगको टोली समस्या समाधानका लागि सक्रिय रहेकाले केही दिनमै उद्योगलाई चाहिने जति बिजुली आपूर्ति हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।