२०८२ असार १३ शुक्रबार

राशिफल

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय घेराउ

काठमाडौं  :  राष्ट्रिय युवा संघले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय (चालक अनुमतिपत्र) घेराउ गरेका छन्। बिचौलियाले कार्यालय सञ्चालन गरेको आरोप लगाउँदै चालक अनुमतिपत्रमा अनियमितता, ढिलासुस्ती र लापरबाहीविरुद्ध संघले आवाज उठाएको हो।

सवारी सञ्चालन अनुमतिपत्र वितरणमा हुँदै आएको अनियमितता, ढिलासुस्ती र लापारबाहीले सर्वसाधारण आजित भएको युवा संघले ठहर गरेको छ। लाइसेन्सका लागि आवेदन फाराम भर्दाको दिनदेखि लाइसेन्स प्राप्त गर्दाको दिनसम्म सेवाग्राहीले व्यहोर्नुपर्ने झन्झट र सास्तीपूर्ण व्यवहार अत्यन्त खेदजनक रहेको राष्ट्रिय युवा संघ अध्यक्ष किरण पौडेलले बताए।

उनले भने, ‘पाइलेपिच्छे बिचौलियाको चलखेल, आर्थिक अनियमितताका कारण पहुँचविहीन नागरिक चरम सास्ती खेप्नुपरेको छ।’ सेवा ग्राहीप्रतिको व्यवहार र कार्यालयको जनहितविपरीतको कार्यले आमनागरिक र राज्यप्रति नकारात्मक भाव फैलिएको उनले बताए।