२०८२ असार १२ बिहीबार

राशिफल

किन वडाअध्यक्ष सडकमै टेबल र कुर्सी राखेर बस्छन्, पालैपालो सेवागाह्रीको फाइल हेर्छन् ?

काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का स्थानीय अहिले काम पर्‍यो भने वडा कार्यालय जान्दैनन्।

उनीहरु वडा कार्यालय भन्दा बाहिरको सडकमा पुग्छन्।

सडकमै टेबल र कुर्सी राखेर बसेका वडाअध्यक्षलाई फाइल पेस गर्छन्।

वडा अध्यक्ष धनबहादुर लामा पालैपालो सेवागाह्रीको फाइल हेर्छन्।

सोमवारदेखि लामाले आफ्नो कार्यालय सडकमा सारेका हुन्।

तर, वडा भवनमा कोठा अपुग भएर होइन।

आफ्नो वडा हुँदै जाने सडक निर्माण गर्न दबाब दिने हेतुले उनले साङ्केतिक विरोध सुरु गरेका हुन्।

‘भक्तपुर नगरकोट सडकखण्ड तत्काल निर्माण गर’ लेखिएको ब्यानर टेबलमा टाँगेर सडकबाटै वडा संचालन गरिरहेका लामाको एउटै माग छ, सडक निर्माण हुनुपर्‍यो।

भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने सडक निर्माणको काम सुरू भएको ८ वर्षभन्दा बढी भइसक्यो। तर पटकपटक म्याद थपिसक्दासमेत यो सडकको निर्माण कार्य सम्पन्न भएको छैन। सैलुङ कन्स्ट्रक्सनले दुई वर्षमै सडक निर्माण गरिसक्ने सम्झौता गरेको थियो। तर स्थानीय अझै धुलोधुँवा र हिलोमा बस्न बाध्य छन्।