लमजुङ : डिभिजन वन कार्यालय लमजुङले जिल्लाका उत्कृष्ट सामुदायिक र कवुलियती वन समूहलाई पुरस्कृत गरेको छ ।
कार्यालयले आर्थिक वर्ष ०७८र७९ को कार्यक्रम अन्तर्गत जिल्ला भित्र रहेका तिन वटा सामुदायिक र तिन वटा कवुलियती वन गरी ६ वटा उपभोक्ता समिति तथा समूहलाई सम्मान सहित पुरस्कृत गरेको हो ।
उत्कृष्ट वन संरक्षण र व्यवस्थापन कार्य गर्ने समूहलाई छनौट गरी सम्मान गरेको हो । पुरस्कृत हुने सामुदायिक वनहरूमा राईनास नगरपालिका–८, स्थित कालिका सामुदायिक बन उपभोक्ता समिति प्रथम भएको छ ।
त्यसैगरी सामुदायिक बन तर्फ मायादु सामुदायिक बन उपभोक्ता समिति, मर्स्याङ्दी–५ दोस्रो र चिप्लेटी देवी सामुदायिक बन उपभोक्ता समिति दोर्दी–२, तेस्रो भएको छ ।
यसैगरी कवुलियती बनतर्फ दोर्दी गाउँपालिका–६, अन्तर्गत थुम्की खर्क कबुलियती बन समूह प्रथम भएको छ । कबुलियती बन तर्फ राईनास–५ को सिमखोला कबुलियती बन समूह दोस्रो र दुधपोखरी–६ अन्तर्गतको सुनिता कबुलियती बन समूह तेस्रो भएको छ ।
सामुदायिक वन तर्फका उत्कृष्ट समूहहरूले क्रमशः नगद १२ हजार, नौ हजार र ६ हजार सहित प्रमाण पत्र पाएका छन् । त्यस्तै कवुलियती बन तर्फका उत्कृष्ट समूहहरूले क्रमशः १२ हजार, नौ हजार र ६ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र प्राप्त गरेका हुन् ।
उत्कृष्ट भएका उपभोक्ता समूहलाई एक कार्यक्रमबीच नगदसहित प्रमाणपत्रले सम्मान गरिएको डिभिजन बन कार्यालय लमजुङले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारीशुसिल वैद्य, र डिभिजन बन कार्यालय लमजुङका प्रमुख पूणेश्वर सुवेदीले नगद सहित टिका खादा र प्रमाण पत्र दिएर सम्मान गर्नुभएको थियो ।
सोही कार्यक्रमको अवसरमा डिभिजन बन कार्यालयले वर्षका उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरेको छ । डिभिजन वन कार्यालयका अनुसार जिल्लाको कुल भूभाग मध्ये ५५ प्रतिशत क्षेत्र बनले ढाकेको छ । जसमध्ये ३६ प्रतिशत बन क्षेत्र व्यवस्थापन सामुदायिक वन उपभोक्ता समितिहरूले गर्दै आएका छन् भने एक प्रतिशत वन कवुलियती बन क्षेत्र अन्तर्गत रहेको छ । जिल्लामा हाल तीन सय ३९ सामुदायिक तथा एक सय ७२ कवुलियती वन समूह रहेका छन् ।
तपाइँको प्रतिक्रीया