२०८२ असार १२ बिहीबार

राशिफल

धानबालीमा खपटे किराको प्रकोप, किसान चिन्तित

लमजुङ : लमजुङमा असार पहिलो साता रोपेको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ ।

बेँसीहर नगरपालिका ११ रामचोक फाटमा धानमा किरा लागेसँगै किसानहरू चिन्तित भएका छन् ।

रामचोक फाँटमा राईस हिस्पा काँडेदार खपटे किराको प्रकोप बढेपछि कृषि प्राविधिक टोलीको सल्लाहअनुसार धानबालीमा विषादी छर्किएको छ ।

कृषि ज्ञान केन्द्र र बेसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक टोलीले सोमबार अनुगमन गरेर विषादी प्रयोग बारेमा जानकारी गराएका हुन् ।

खपटे किरा प्रकोपले भर्खर रोपेका कलिला धानको पात खाएर बिरुवा नै सुक्ने, धान बिरुवाको गुभो खान लागेपछि धानबाली नष्ट हुने भएकाले किसानहरू चिन्तित भएका छन् ।

फाँटको करिब एक सय रोपनी धानबालीमा किरा प्रकोप देखिएको र मंगलवार करिब ५० रोपनीमा विषादी हालेको ज्ञान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका कृषि प्रसार अधिकृत किरण सापकोटाले फाँटमै पुगेर धानबाली अवलोकन गरी किरा प्रकोप र यसका उपचार विधिका बारेमा किसानलाई जानकारी गराएका थिए ।

किराको प्रकोप नियन्त्रणका लागि आवश्यक विषादी केन्द्रमा नभएकाले नगरपालिकाको सहयोगमा किसानहरुलाई विषादी उपलव्ध गराइएको छ ।