काठमाडौं : उपेन्द्र यादव पक्षले भट्टराईसहित विस्तारित बैठकमा सहभागी नेता तथा कार्यकर्तालाई कारबाहीको तयारी गरेको छ । वीरगन्जमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा कारबाहीको एजेन्डामाथि छलफल हुने भएको छ ।
जसपा प्रवक्ता प्रकाश अधिकारीका अनुसार भट्टराईसहितका नेताले विधानविपरीत काम गर्दै आएकोबारे बुधबार सामान्य छलफल भएको छ । बिहीबारको बैठकमा एजेन्डाकै रूपमा छलफल हुने र निर्णयमा पुग्ने उनले बताए । पार्टी विधानविपरीत जानेलाई बहुमतको निर्णयका आधारमा कारबाही हुने उनको भनाइ छ ।
पार्टीको विधान संशोधन गर्ने, स्थानीय तह निर्वाचनमा घात–अन्तर्घात गर्ने र पार्टी विधानविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने र संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्नेलगायतका विषयमा छलफल सुरु भएको नेता मनीष सुमनले जानकारी दिए । उनका अनुसार संसदीय बोर्ड गठन, केन्द्रीय कार्यकारिणी समितिको पुनर्गठन र अध्यावधिक गर्ने विषयमा छलफल सुरु भइसकेको छ । वीरगन्जमा जारी बैठकमा करिब तीन सय सदस्य सहभागी रहेको अधिकारीले दाबी गरे ।
जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बखेडा मात्रै झिकेको आरोप लगाएका छन् । वीरगन्जमा बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा यादवले नेतैपिच्छे भट्टराईले फरक–फरक कुरा गर्ने गरेको आरोप लगाए ।
तपाइँको प्रतिक्रीया