२०८२ असार १३ शुक्रबार

राशिफल

अलगअलग स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं  :  ललितपुर, बाँके र रौतहटमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

ललितपुरको हात्तीवनमा गएराति स्कुटर अनियन्त्रित भएर रोकी राखेको ट्रकको पछाडी ठोकिँदा १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटर चालक ललितपुरको गोदावरी नगरपालिका ५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० वर्षीय सुरेश मोक्तान रहेका छन्। गम्भीर घाइते भएका मोक्तानको उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। शवलाई पाटन अस्पताल राखिएको ललितपुर प्रहरीले जनाएको छ।

हात्तीवन स्थित सडक छेउमा रोकी राखेको बाग्मती प्रदेश ०१–००५ख ९४७५ नम्बरको ट्रकको पछाडी मोक्तानले चलाएको बाग्मती प्रदेश ०२-००७प ८६३८ नम्बरको स्कुटर गएराति पौने १ बजे ठोकिएको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।

यस्तै बाँकेको कोहलपुर नगरपालिका ११ मा बुधबार साँझ बस र मोटरसाइकल आपसमा ठोकिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ६० वर्षीय राम बहादुर थापा रहेका छन्।

गम्भिर घाइते भएका उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो। भे १ क १२५ नम्बरको बस र भे ४ प ३२५३ नम्बरको मोटरसाइकल हिजो साँझ ६ बजे आपसमा ठोकिएका हुन्। दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

रौतहटको दुर्गाभगवती गाँउपालिका २ भलोहीमा हिजो बेलुकी ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान बस्ने अन्दाजी ७० वर्षीय किशोर ठाकुर रहेका छन्। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका ठाकुरको शिवदर्शन अस्पतालमा राती ९ बजे मृत्यु भएको हो।

ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गंगा पिपराले नियन्त्रणमा लिएको छ ।