२०८२ असार १२ बिहीबार

राशिफल

विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

उदयपुर : वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ । गत ९ असारमा परेको चट्याङले नेपाल प्राधिकरण लहान सबस्टेशन पूर्ण रुपमा क्षति पुर्‍याएयता कारखाना खुलेको छैन ।

उद्योग बन्द हुँदा दैनिक ७२ लाख ३० हजार रुपैयाँ घाटा भइरहेको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए । उनले भने, विद्युत् आपूर्ति रोकिएपछि उद्योग बन्द छ । अहिलेसम्म १५ करोड ९० लाख ६० हजार रुपैयाँ उद्योगलाई घाटा भइसकेको छ ।

उद्योग पूर्ण सञ्चालन गर्न ६ दशमलब ५ मेगावाट विद्युत् आवश्यक पर्छ । तर, अहिले प्राधिकरणले २ मेगावाट मात्रै उपलब्ध गराउँदै आएको छ । प्राधिकरणको लहान सबस्टेशनमा चट्याङले हानेपछि सिराहा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बूमा समेत विद्युत आपूर्तिमा समस्या भएको छ । प्राधिकरणको लहान सबस्टेशन पूर्ण रुपमा क्षतिग्रस्त भएपछी उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुमा अहिले सोलु कोरिडोरमा उत्पादन भएको बिजुली बितरण गरिएको छ । सिराहामा भने सप्तरी र धनुषाबाट बिद्युत आपूर्ति गरिँदैछ ।

प्राधिकरण गाईघाट बितरण केन्द्रका प्रमुख पंकज गोइतले गत ९ असारमा लाहान सबस्टेशनमा भएको ६३ एमभीएको ट्रान्सफर्मर क्षतिग्रस्त बनाएकाले समस्या भएको बताए । उनले भने, प्राधिकरण रातदिन नभनि मर्मतमा लागेको छ । मर्मत अन्तिम चराणमा पुगेकोले केहि दिनमा आपूर्ति हुनेछ । चट्याङले करोडौँको क्षति पुगेको छ ।

विद्युतको भोल्टेज कम भएकाले उद्योग बन्द हुन पुगेको हो । पूर्ण रूपमा मर्मत नभइ उद्योग सञ्चालनमा आउन सक्दैन । नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका प्रमुख गोइतले उद्योगलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराएको दाबी गर्दछ । उनले भने, ‘उद्योगलाई विद्युत् प्राधिकरणले आवश्यक पर्ने दैनिक २ मेगावाट दिइरहेका छौँ ।

उनले दुई मेगावाटमा सञ्चालन हुने उद्योग दैनिक ६ मेगावाट विद्युत् नपाएर घाटा भयो भन्नुभन्दा विद्युत् भोल्टेज सन्तुलन गर्ने उद्योगको क्यापिसिटर बैंक राख्न सुझाव दिए । उनले भने, ुसमस्या उद्योगको क्यापिसिटर बैंकमा छ । हामीले क्यापिसिटर बैंकमर्मत गरेर उद्योग सञ्चालन गर्न अनुरोध गर्दै पत्र समेत पठाएका छौ ।

प्राधिकरणले आवश्यक विद्युत उपलब्ध गराएको बताईरहँदा घरेलु प्रयोजनका निम्ति जडान गरिएका मोटर, पंखा, फ्रिजसमेत सञ्चालन भएका छैनन् । कम भोल्टेजकै कारण गाईघाटस्थित दैनिक पत्रिका छपाइमा समेत समस्या आएको सिम्रिक दैनिकका कार्यकारी सम्पादक सुखिलाल चौधरीले बताए ।

विद्युत आपूर्ति सन्तुलन नहुँदा रेडियो सञ्चालन गर्न पनि कठिन भएको गाईघाटस्थित रेडियो त्रियुगाका स्टेशन म्यानेजर कौशल चेम्जोङ बताउँछन् । यता, नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रका प्रमुख गोईत शुक्रवार साँझ सम्मका समस्याको समाधान हुने बताउँछन् ।