२०८२ जेठ २१ मङ्गलबार

राशिफल

राजनीतिकसँगै सांगीतिक यात्रामा जमुना पोखरेल

‘आउँछु भनी ढाँट्यौ मलाई
किन छाडी गयौ मलाई’

प्रेम वियोगले तड्पिएका प्रेमीहरूलाई यो गीत सुनिसकेपछि केही क्षण भए पनि राहत महसुस गर्छन् । जमुना पोखरेलको शब्द, हरिशरण सायमीको संगीत र जमुना पोखरेलकै लयमा गाइएको यस गीतले प्रेममा विछोडिएकाले आफ्नै भावना पोखिएको महसुस गर्छन् ।

गायिका पोखरेलले नवयुवाको मनोभावनालाई बुझेर यो गीत पस्किएको बताइन् । नेकपा एमालेनिकट अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पोखरेलले सांगीतिक यात्रामा पनि छिन् । उनका तीनवटा गीत सार्वजनिक भएका छन् ।

हरितालिका तीजको रमझम नजिकिँदै गर्दा सन्देशसहितको गीत पनि पोखरेलले सार्वजनिक गरेकी छन् । समय र समाजसापेक्ष आफू पनि परिमार्जित हुनुपर्छ भन्ने मान्यता राख्ने पोखरेलले यसभन्दा अगाडि नै एउटा आधुनिक गीत लिएर आइन् ।

किशोरहरूलाई लक्षित गरेर यसअघि निकालिएको आधुनिक गीतले खासै मन छुन नसके पनि ‘आउँछु भनी ढाँट्यौ मलाई किन छाडी गयौ मलाई’ भन्ने आधुनिक गीतले भने यतिबेला निकै चर्चा बटुलेको छ ।

चार दिनको फरकमा सार्वजनिक तीज गीत र आधुनिक गीत आपसी प्रतिस्पर्धामा छन् । सधैँभरी जिवन्त बनिरहने सदाबहार गीत पस्किएकी पोखरेलको सांगीतिक यात्रा फराकिलो बन्दै गएको छ ।