काठमाडौं : शुक्रबार डाकिएको गाउँ सभा स्थगित भइसकेपछि पनि पर्साको कालिकामाई गाउँपालिकामा झडप भएको छ ।
शुक्रबार दिउँसो नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको हो ।
झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेल सहित ५ जना घाइते भएका छन् ।
घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्षको गालामा चोट लागेको छ । भित्र र बाहिर गरी पाँच वटा टाँका लागेको नारायणी अस्पतालले जनाएको छ ।
त्यसैगरि वडा नं ४ बस्ने अन्दाजी ७० वर्षीय महम्मद गफार मिया, ४० वर्षीय महम्मद एकबाल मिया, ४५ वर्षीय अकबर मिया र ३१ वर्षीय विजय चौरसिया घाइते भएका छन् । घाइतेमध्ये महम्मद मियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
घटनामा संलग्न रहेको आरोपमा ५५ वर्षीय ध्रुव साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
शुक्रबार दिउँसो २ बजेतिर कालिकामाईको आठौं गाउँसभामा सुरु गर्न लागिएको थियो । सभामा उपाध्यक्ष राजमति बरैनी, वडा नं २ का अध्यक्ष सोनालाल चौरसिया, वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढ लगाउत २९ जना सदस्य पुरै सहभागी भएका थिए । तर सहमति हुन नसकेपछि शनिबार अपराह्न ४ बजे श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरिहरपुरविर्तामा बस्नेगरि बैठक डाक्ने तय भयो ।
सोही अनुसार अध्यक्ष बशिष्ट कुमारको आदेशले प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले सूचना पनि टाँस गरेका थिए । उनीहरु बसिरहेकै ठाउँमा वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढको भाइ रञ्जित आएका थिए । वडा नं ३ का अध्यक्ष पटेलले गाउँ सभा सदस्य र सहयोगी कर्मचारी मात्रै रहेको ठाउँमा सरोकार नभएको मानिस नआउन भनी प्रहरी लगाएर रञ्जितलाई बाहिर पठाएका थिए । त्यसैले गर्दा आक्रोशमा आएका रञ्जित साह गोढले आफू बाहिर निस्केपछि अचानक आक्रमण गरेको वडा नं ३ का अध्यक्ष पटेलको आरोप छ ।
त्यसपछि आक्रोशमा आएका दुवै पक्षका कार्यकर्ताहरुले कालिकामाईको विभिन्न ठाउँमा झडप गरेका थिए । अर्का घाइते मम्मद गफारले भने गाउँ सभा हेरेर फर्कने क्रममा आफूलाई घेरा हालेर आक्रमण गरेको बताए ।
वडा नं ४ का वडा अध्यक्ष सञ्जय साह गोढले भने वडा नं ३ का अध्यक्ष आफैंले हानेर घाउ बनाएको आरोप लगाए । गाउँ सभामा कुनै घटना नभएको बताउँदै बाहिर गएर सञ्जयले नै हो हल्ला गराएको उनको तर्क छ ।
तर प्रहरीले पनि वडा नं ३ का वडा अध्यक्ष सञ्जयमाथि ढुंगा प्रहार भएको दाबी गरेको छ ।
गाउँपालिका अध्यक्ष बशिष्ट कुमारले भने गाउँपालिकामा दुःखद घटना भएको बताए । उनले घाइतेहरुको उपचारसँगसँगै गाउँका अन्य समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिए ।
तपाइँको प्रतिक्रीया