२०८२ असार १५ आइतबार

राशिफल

जुम्ला कालिकोट जोड्ने पुल सञ्चालनमा नआउँदै पुल चर्कियो

काठमाडौं : कर्णाली राजमार्गको जुम्ला कालिकोट जोड्ने सिंजाखोला पक्की पुलमा गाडी चढेर सयर गर्ने कर्णालीवासीको सपना ६ वर्षसम्म पनि पूरा हुन सकेन ।

कहिले पुलको काम नै सुरु नहुने, कहिले काम सुरु भएर पनि रोकिने र कहिले निर्माण गरिएको पुलको संरचनासमेत भत्किने जस्ता समस्याले सिंजाखोलाको पक्की पुलमा यात्रा गर्ने कर्णालीवासीको सपना अधुरै बनेको छ ।

सिंजा खोला पुलले कालिकोट र जुम्लाको सिमाना नाग्म बजारलाई जोड्छ । अहिले बेलिब्रिजमा सवारीसाधन आवतजावत गरिरहेकोमा पुल जीर्ण भइसकेकोले यात्रा सुरक्षित छ भन्न सकिने अवस्था छैन ।

तिला ७ का कृष्णबहादुर बुढाले पक्की पुल बन्ने भनिएको ६ वर्षसम्म पनि बन्न नसक्नु दुःखद भएको बताए ।

यही असार महिनाभित्र पुल बनेर सञ्चालनमा आउने आसा थियो । तर पुल निर्माणको अन्तिम चरणमा प्रिटेस्ट गर्दा पुलको बीचको भाग नै चर्किएपछि झन् अन्योल सिर्जना भएको छ ।

लामो समयसम्म पुल निर्माणको काम चलिरहनु, त्यसैमा पनि सञ्चालनमा नआउँदै पुल चर्किनु बिडम्वना नै रहेको स्थानीय अगुवाहरू बताउँछन् ।