२०८२ असार १५ आइतबार

राशिफल

पहिरोमा ज्यान गुमाउने परिवारलाई सरकारले एक लाख रुपैयाँ राहत दिने

काठमाडौं : बिहीबार राति जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा पहिरोले विद्युत गृह भासिदा ज्यान गुमाउने ३ जनाको परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ ।

शनिबार जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

स्थलगत अवलोकनपछि बसेको गाउँ कार्यपालिकाको बैठकले पीडित परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको अध्यक्ष शाहीले बताए ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार पीडित परिवारलाई संघीय सरकारले पनि एक लाख रुपैयाँ राहत दिनेछ ।

बिहीबार राति हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला लघु जलविद्युत आयोजनामा पहिरो जाँदा विद्युतगृहका अपरेटर गोरखबहादुर शाहीका श्रीमती र ९ र ८ वर्षका दुई छोराको मृत्यु भएको थियो ।