विराटनगर : नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिका–१ बुधनगरबाट सशस्त्र प्रहरीले १ सय ४५ बोरा तस्करीको तोरी बरामद गरेको छ।
ट्याक्टरमा लोड गरेर भारतको जोगवनीबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक जंगबहादुर सिंह नेतृत्वको टोलीले अवैध तोरी बरामद गरेको हो।
बोरामा प्याक गरेर प्रदेश १–०४–००१ त १२७४ नम्बरको ट्याक्टरमा लोड गरी ल्याइएको तोरी बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए।
उनका अनुसार भन्सार छली गरेर नेपाल भित्राइएको तोरी ५ हजार ८ सय किलोग्राम छ। अवैध तोरी लोड गरिएको ट्याक्टर भारतबाट सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गरेपछि नियन्त्रणमा लिइएको उनको भनाइ छ।
एसपी लामिछानेका अनुसार सशस्त्रले ट्याक्टर नियन्त्रणमा लिनसाथ चालक फरार बनेका थिए। चालकको खोजी भइरहेको उनले बताए।
बरामद गरिएको तोरी २ लाख ५० हजार मूल्य बराबरको रहेको जानकारी लामिछानेले दिए। सशस्त्रका अनुसार भारतबाट अवैध तरिकाले ल्याउँदै तोरी तेल उत्पादन गर्ने उद्योगहरुलाई बिक्री गर्ने गरिएको हुनसक्छ।
बरामद गरिएको ट्याक्टर र तोरी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि शुक्रबार साँझ विराटनगर भन्सार कार्यालयमा बुझाइएको एसपी लामिछानेले बताए।
तपाइँको प्रतिक्रीया