काठमाडौं : ६० औं इन्जिनियर दिवसको अवसरमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान गरिएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनले आज प्रज्ञा भवन कमलादीमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई सम्मान गरे ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर विजयमान शेरचनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । शेरचन इलेक्ट्रिक भेहिकल एसोसिएसनको अध्यक्ष समेत हुन् ।
यसैगरी बेस्ट इन्नोभेसन अवार्ड युवा इन्जिनियर अनुप खनालले पाएका छन् । गोरखा निवासी खनाल ललितपुरस्थित इन्नोभेटिभ इन्जिनियरिङ सर्भिसका प्रमुख हुन् ।
बिभिन्न दुर्गम क्षेत्रमा रहेका नदीनालाहरुमा स्वचालित प्रणालीमा पानीको बहाव नाप्ने मेसिन जडान गरी त्यसको डाटा मोबाइल वा कम्प्युटरमा लाइभ हेर्न मिल्ने प्रविधिको विकास गरेवाफत खनाललाई बेस्ट इन्नोभेसन अवार्ड प्रदान गरिएको एसोसिएसनले जनाएको छ ।
यसैगरी इन्टरप्रेनरसिप अवार्ड सरोज कुमार उपाध्यायलाई, शहीद नवराज विष्ट मेमोरियल अवार्ड सन्जय केसीलाई, युथ प्रोफेसनल अवार्ड रोजा किरन बासुकलालाई, महिला इन्जिनियर अवार्ड रेखा श्रेष्ठलाई र इन्जिनियरर्स एप्रिसियसन अवार्ड राष्ट्रिय आविश्कार केन्द्रलाई प्रदान गरिएको एसोसिएसनका केन्द्रीय सदस्य एवम् पुरस्कार छनोट समितिका सदस्य सचिवले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया