काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बिजुलीको तार भूमिगत गर्न र खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको सडकको संरचना कहिलेसम्म बन्छ भनेर सरोकारवालासँग प्रश्न गरेका छन् ।
मंगलबारको पूर्वाधार विकास समन्वय बैठकमा मेयर साहले नेपाल विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल का अधिकारीहरूसँग यस्तो प्रश्न गरेका हुन् ।
मेयर साहले रानीबारी, बालुवाटार, विशालनगर, धुम्बाराही, हाँडीगाउँ, माली गाउँ, कालो पुल, नयाँ बसपार्क लगायत क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि अलपत्र अवस्थामा छोडिएको सडक बनाउने कामबारे प्राधिकरणका अधिकारीहरुसँग प्रश्न गरेका हुन् ।
बिजुलीको तार भूमिगत गरिएपछि पैदल मार्गमा समेत क्षति पुगेको भन्दै उनले महानगरले गर्नुपर्ने काम भने तदारुकताका साथ गरिने बताए ।
बैठकमा मेयर साहले खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको वडा नम्बर १३, १४, १५ र २६ का सडक कहिलेसम्म कालोपत्रे हुन्छ भन्नेबारे केयूकेएलका अधिकारीहरुसँग पनि प्रश्न गरेका छन् ।
खानेपानीको पाइप बिच्छ्याउनका लागि सहमति भएका वडा २, ३, ४ र ५ को काम कसरी हुँदैछ भन्ने बारे पनि उनले जानकारी लिएका थिए ।
सेवा प्रदायक सार्वजनिक सेवा क्षेत्रका कर्मचारीहरु तथा लाभग्राही सेवा लिने व्यक्तिहरु को व्यवहारमा परिवर्तन ल्याउन सके ठूलो परिवर्तन आउन सक्ने उनको भनाइ थियो ।
फ्लाइ ओभर ब्रिज, अण्डर पासजस्ता भौतिक संरचना भोलिका लागि आवश्यक रहेको भन्दै उनले आजका लागि भएको अवस्थालाई सुधार गर्न व्यवहार परिवर्तनको खाँचो रहेको उनले बताए ।
तपाइँको प्रतिक्रीया