२०८२ जेठ ३१ शुक्रबार

राशिफल

बच्चुको संयोजकत्वमा महिला साफको आयोजक कमिटी गठन

काठमाडौं : वरिष्ठ उपाध्यक्ष वीरबहादुुर खड्का बच्चु को संयोजकत्वमा अखिल नेपाल फुटबल संघ एन्फाले १८ सदस्यीय साफ च्याम्पियनसिप आयोजक समिति गठन गरेको छ ।

शुक्रबार एन्फाले चारै उपाध्यक्षसहित प्रतियोगिता सञ्चालनका लागि १८ सदस्यीय आयोजक समिति गठन गरेको हो ।

यसअघि बिहीबारको एन्फा कार्यसमिति बैठकमा साफ च्याम्पियनसिप आयोजनाको एजेन्डा रहे पनि विवादको कारण बैठक बस्न सकेन ।

तर, एन्फाले शुक्रबार आफ्नो साइटमार्फत आयोजक समिति गठनसहित मुख्य प्रशिक्षक, भेन्यु म्यानेजरलगायत विभिन्न समिति गठन गरेको जनाएको हो ।

यस्तै, रवीन्द्र चन्दलाई एन्फाले भेन्यु म्यानेजरको जिम्मेवारी सुम्पिएको छ । यता, विजय घले ‘लोकल जेनेरल कोर्डिनेटर’ नियुक्त भएका छन् ।

दिनेश व्यञ्जनकारले सुरक्षा विभाग पाएका छन् भने सञ्जिव सिल्पाकारले मार्केटिङ तथा ब्रोर्डकाष्टिङ र डिजिटल राइट्सको जिम्मेवारी पाएका छन् ।

यस्तै, एन्फाले कुमार थापालाई राष्ट्रि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

पूर्व खेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुन् ।

यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए ।

यस्तै, एन्फाले महिला फुटबल टोलीको म्यानेजरमा पूर्व महिला संघकी अध्यक्ष बिन्द्रा देवानलाई नियुक्त गरेको छ । महिला साफ ६ देखि १९ सेप्टेम्बरसम्म काठमाडौंमा हुँदै छ ।