काठमाडौं : धनगढीबाट स्रोत नखुलेको रकम सहित सशस्त्र प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको केन्द्रीय ब्युरो टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नम्बर ३४ गण कैलालीका अनुसार शनिबार बिहान साढे ५ बजेको समयमा ब्युरो टोलीले सो रकम सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्ति टोलका १७ वर्षका विवेक चन्द र सोही ठाउँका १८ वर्षका सरोज धामी रहेका छन् ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया