२०८२ असार ५ बिहीबार

राशिफल

नागरिकता विधेयकको विरोधमा प्रदर्शन

काठमाडौं : नागरिकता ऐन संशोधन विधेयकको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। माइतीघर मण्डलमा युवाहरूले प्रदर्शन गरेका हुन्।

फेसबूक ग्रूप मेन्स रुम रिलोडेड एमआरआरले बुधबार बिहान प्रदर्शन गरेको हो। प्रदर्शनमा उक्त समूह बाहिरका व्यक्तिहरू पनि सहभागी थिए।

विधेयकमा खास गरी बाबुआमा नभेटिएको नाबालकले वंशजको नागरिकता पाउने, बिहे लगत्तै नागरिकता दिइने, महिला र पुरुषका लागि फरक प्रावधान जस्ता विवादित विषयहरू रहेको भन्दै यी संवेदनशील पक्षमा पुनर्विचार गरिनुपर्ने प्रदर्शनकारीहरूको माग छ।

संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाले गत शुक्रबार नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो। यसपछि सोमबार राष्ट्रिय सभामा प्रस्ताव पेश भइसकेको छ। राष्ट्रिय सभाले विधेयक पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै कानूनका रूपमा कार्यान्वयन हुनेछ।

एमआरआरले बिहीबार राष्ट्रिय सभा अध्यक्ष लगायतका नेताहरूको घरमा गएर ज्ञापनपत्र दिने पनि जनाएको छ।