जाजरकोट : जिल्लाको बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारामाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय अविनास नेपाली र टेकेन्द्र नेपालीलाई मंगलबार साँझ कुशे–५ बाटुलेस्थित बाटोमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
साउन ९ गते बिहान ७ बजेतिर आफ्नै निवासमा रहेका नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष महतारामाथि खुकुरी प्रहार गर्नुका साथै निर्घात कुटपिट गरी उनीहरु फरार भएका थिए ।
प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत जाजरकोटमा ज्यान मार्ने उद्योग कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।
आक्रमणबाट घाइते वडाध्यक्षको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।
तपाइँको प्रतिक्रीया