काठमाण्डौ : बञ्चरेडाँडामा ल्यान्डफिल क्षेत्रतर्फ फोहर लिएर उपत्यकाबाट गएका सवारीमा तोडफोड भएको छ । रोकेर राखेकोे १८ वटा गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।
फोहर भरेर गएका १५ वटा टिपर, २ वटा लोडर र एउटा स्काभेटरमा तोडफोड भएको छ । साधनको सिसा फुटाइएको छ । नुवाकोट र धादिङको सीमाना नजिकै पार्किङमा राखिएका ती गाडीमा गएराति तोडफोड भएको हो । गाडी कसले तोडफोड गर्यो भन्ने बारे खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले फोहरलाई लिएर राजनीतिक षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो । फोहरका कारण स्थानीयबासिन्दा प्रभावित भइरहे पनि उनीहरुको पक्षमा काम हुन नसकेको उहाँको भनाई छ । फोहर बोक्ने गाडीमा तोडफोड भएपछि फोहोर ढुवानी प्रभावित हुने भएको छ ।
काठमाण्डौका धेरै ठाउँमा लामो समयदेखि नियमित फोहोर उठ्न सकेको छैन । कहीँ कतै फोहोर संकलन भइरहेकोमा फेरि असर पर्ने भएको छ । फोहरका कारण काठमाण्डौ दुर्गन्धित बनेको छ ।
तपाइँको प्रतिक्रीया