काठमाण्डौ : अपराध अनुसन्धान कार्यालय, काठमाडौंले ७४ लाख रुपैयाँ नगद र विभिन्न वित्तीय संस्थाको नाममा काटिएका २६ लाख ३२ हजार ७५० रुपैयाँ बराबरको चेकसहित हुण्डी कारोबारमा संलग्नको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत राजस्थान शिखर जिल्ला देवथला घर भई काठमाडौं बबरमहल बस्ने ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भई जोरपाटी बस्ने २० वर्षीय रामहरी दुलाल र रौतहट चन्द्रपुर नगरपालिका–४ घर भई चाबहिल बस्ने २४ वर्षीय सुदिप आचार्य छन् ।
काठमाडौं महानगर–१८ नरदेवी क्षेत्रमा गैरकानुनी रुपमा हुण्डीको कारोबार भइरहेको सूचनाका आधारमा सोमबार साँझ नगद र चेकसहित उनीहरूलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।
प्रहरीले स्रोत नखुलेको ५ सय र १ हजार रुपैयाँका ७४ हजार रुपैयाँको नोट र विभिन्न वित्तीय संस्थाका २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको चेक बरामद गरेको उनले बताए । थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले उनीहरूलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया