काठमाडौं : चितवनको नारायणी नदीले बगाएर २५ वर्षको भाले गैँडा मरेको छ । गएको साउन १२ गते नारायणी नदीमा आएको बाढीले बगाएर लगेको गैंँडा मृत अवस्थामा भारतको गण्डक ब्यारेकमा भेटिएको हो ।
त्रिवेणीमा रहेको गण्डक नहरको १० नम्बर गेटमा मृत अवस्थामा गैँडा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।
भारततर्फ पर्ने गण्डक ब्यारेकको ढोका नजिक मृत फेला परेको गैँडालाई भारतको वाल्मिकि टाइगर रिजर्भको प्राविधिक टोलीले व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।
‘भारतीय क्षेत्रमा फेला परेकाले त्यहीँको नियम अनुसार मृत गैँडाको व्यवस्थापन भयो’ उहाँले भन्नुभयो ‘लिखित जानकारी आएको छैन तर मौखिक सूचना पाएका छौँ ।’ मृत गैँडाको खाग र खुर भने सुरक्षित रहेको उहाँले बताउनु भयो। नेपालमा मृत गैँडाको खाग निकालेर राख्ने नियम भए पनि भारतको नियम अनुसार निकालिँदैन।
नेपालमा मरेको गैँडालाई गाड्ने नियम भए पनि भारतमा जलाउने गरिन्छ।
तपाइँको प्रतिक्रीया