२०८२ जेठ ३२ शनिवार

राशिफल

गुल्मीको रेसुङ्गामा भोली तीज गीत प्रतियोगिता हुने

 

काठमाडौं : गुल्मीको रेसुङ्गामा तीज गीत प्रतियोगिता हुने भएको छ । पर्यटकिय, ऐतिहासिक तथा धार्मिक स्थल रेसुंगा तपोभुमिमा साउने मेला लागिरहेको छ । यही अवसरमा हिन्दु नारी एवं धर्मालम्बीको पवित्र चाड हरितालिका तीजलाई मध्यनजर गरी तीज गीत प्रतियोगिताको आयोजना गरिने भएको छ ।

साउन २८ गते धर्म संस्कृतिको संरक्षण गर्न, यस क्षेत्रभित्र रहेका महिलाहरुको प्रतिभा जचाउँन तथा मौलिक गीतको संरक्षण गर्ने उद्देश्यले तीज गीत प्रतियोगिताको आयोजना गरिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभएको छ ।

खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरिएको बताउँदै अध्यक्ष भुसालले प्रतियोगितामा सहभागी बन्न समेत आग्रह गर्नुभएको छ । अध्यक्ष भुसालका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई रु २० हजारले पुरस्कृत गरिने छ । प्रथम पुरस्कारका लागि साइन रेसुंगा डेभलवमेण्ट विकास बैंङ्कले सौजन्य गरेको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

द्वितिय हुने समुहलाई रु १५ हजार रुपैयाँले पुरस्कृत गरिने भएको छ । आधुनिक कृषि प्रणालीको प्रयोगमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका मिलन एग्रोभेट सेन्टरका व्यवस्थापक यज्ञप्रसाद पन्थीले द्वितिय पुरस्कारको सौजन्य गर्नुभएको छ । यस्तै तृतिय हुने समूहलाई रु १० हजार रुपैयाँ प्रदान गरिने छ । जसको सौजन्य जय सगरमाथा अटो मोबाइल्सले गरेको छ । प्रतियोगितामा शान्त्वना स्थान प्राप्त गर्ने सहुलाई रु ५ हजार प्रदान गरिनेछ । जसको सौजन्य रुरु रेसुंगा गेष्ट हाउस रुरु ४ बलेटक्सारले गरेको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

तीज गीत प्रतियोगिता सम्पन्न गर्न रेसुंगा संरक्षण समितिका सदस्य लिल बहादुर बस्नेतको संयोजकत्वमा ७ सदस्यीय तीज गीत प्रतियोगिता व्यवस्थपन उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा नेत्रहादुर बस्नेत, पुष्कर पन्थी, शोभा मरासिनी, शारदा थापा, र मोतिप्रसाद खनाल रहनुभएको छ । साउन १ गते देखि सुरु भएको श्रावणी पुजाका लागि अहिलेसम्म करिब १५ हजारले अवलोकन गरेका अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

विगत दुई वर्ष देखि कोभिड–१९ का कारण स्थगित भएको रेसुंगाको साउने पुजा यस वर्ष भने धुमधामका साथ सञ्चालन भइरहेको छ । जिल्लाको ऐतिहासिक एवम् धार्मिक पवित्र तिर्थस्थल रेसुंगामा एक महिने साउने पुजा यस वर्ष रौनकताका साथ सञ्चालन भइरहेको रेसुंगा संरक्षण समितिका अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

पर्यावरण शुद्धताका लागि घिर्तधारा र लक्ष्य होम समेत दैनिक रुपमा सञ्चालन भइरहेको छ । साउन महिनामा रेसुंगामा रहेको महापोखरीमा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भई पुण्य तथा समृद्धि प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । चार धामबाट ल्याएको जल रेसुंगाको पोखरीमा मिसाइएकोले रेसुंगापोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।