२०८२ जेठ २१ मङ्गलबार

राशिफल

रुकुम पश्चिममा पहिरोले सडक बन्द भएपछि हिँडेरै स्वास्थ्य संस्था जानेक्रममा बाटोमै सुत्केरी भएकी महिला बेहोस

काठमाडौं : रुकुम पश्चिममा एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

त्रिवेणी गाउँपालिका २, पानीगैराकी २७ वर्षीया करिश्मा पुनको अवस्था गम्भीर भएको हो । वर्षाका कारण आएको पहिरोले सडक बन्द भएपछि हिँडेरै स्वास्थ्य संस्था जानेक्रममा बाटोमै बच्चा जन्मिएपछि रक्तश्रावका कारण उहाँको स्वास्थ्य अवस्था गम्भीर भएको हो ।

स्वास्थ्य संस्था पुर्याउनको लागि बिहान ६ बजे घरबाट निक्लिएको तर करिश्माले बाटोमै बच्चा जन्माउनु भएको उहाँकी सासुआमा कौशिला पुनले जानकारी दिनुभयो । करिश्मालाई हिजो बेलुकादेखि नै सुत्केरी व्यथा लागेको थियो ।

‘गाउँमा बिरामी बोक्ने स्टेचर पनि पाइएन, दुई घण्टा हिँडेरमाथि गाउँ पुगेको बेला बच्चा जन्मियो,’ कौशिलाले भन्नुभयो, ‘करिश्माको निरन्तर रगत बगिरहेको छ ।’ उहाँले करिश्मा बेहोस हुँदै होसमा आउँदै गरेको बताउनु भयो । उहाँले स्थानीयहरुले स्टेचर खोजिरहेको तर स्वास्थ्य चौकीसम्म पुर्याउन मुश्किल भएको बताउनु भएको छ ।

रुघाँ सिमर्तु सडक खण्डमा आएको पहिरोको कारण दुई हप्तादेखि सडक अवरुद्ध भएको छ । यो सडक खण्ड खुलाउने प्रयास कहीँकतैबाट नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।