काठमाडौं : न्याय माग गर्दै आत्मदाह प्रयास गरेकी निहारिका राजपुतलाई टिचिङ अस्पतालको मानसिक वार्डमा राखिएको छ । प्रहरीका अनुसार उनलाई मनोवैज्ञानिक उपचार आवश्यक रहेको भन्दै सो वार्डमा राखिएको हो ।
हिजो राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास गरेपछि तत्काल प्रहरीले उनलाई नियन्त्रणमा लगिएको थियो । त्यहाँबाट टिचिङ अस्पताल पुर्याइ इमर्जेन्सीमा प्राथमिक उपचार गरेपछि मानसिक वार्डमा भर्ना गरिएको हो । निहारिकाले भने आफूलाई अनसनस्थलमै फर्काइदिन माग गरिरहेकी छन् ।
अस्पतालमा निहारिकालाई अन्य मानसिक बिरामीहरुसँगै राखिएको छ । उनको दुई वर्षको छोरा पनि त्यहीँ छन् । बच्चालाई प्रहरीहरुले रेखदेख गरिरहेका छन् । अस्पतालमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । महाराजगञ्ज प्रहरीका वरिष्ठ नायव उपरिक्षक अंगूर जिसीले निहारिकालाई आफूहरुले अस्पताल पुर्याएपछि डाक्टरहरुले मनोपरामर्शका लागि मानसिक वार्डमा राख्न रिफर गरेको बताए ।
उनले भने, ‘कुनै पनि व्यक्तिले सार्वजनिक स्थलमा त्यसरी आत्महत्या प्रयास गर्छ भन्ने मानसिक समस्या छ भन्ने बुझ्नुपर्छ । त्यही भएर नै डाक्टरले मानसिक वार्डमा रिफर गर्नुभएको होला ।’
उनले आफू निहारिकाको अवस्था बुझ्न राति ३ बजे अस्पतालमा पुगे पनि सो वार्डमा प्रवेश नपाएको बताए ।‘मानसिक वार्डमा अरुलाई जान दिइँदैन रहेछ, मैले पनि भेट्न पाइँन,’ उनले भने ।
निहारिकालाई अस्पतालमा स्लाइन दिएर राखिएको छ । उनले यसअघि वीर अस्पताल लगिँदा स्लाइन लिन पनि मानेकी थिइनन् । तर, टिचिङमा स्लाइन चढाइएपछि उनी केही फ्रेस बनेकी छन् । अहिलेसम्म मानसिक परामर्श कसैले नदिएको उनले बताइन् ।
हिजो आत्मदाह प्रयास गर्ने क्रममा निहारिकाले आफ्नो सुरुवालमा लाइटर सल्काउन भ्याइसकेकी थिइन् । सुरुवाल थोरै जलेर खुट्टामा घाउ भएको उनले जानकारी दिइन् ।
निहारिकालाई कानूनी सहयोग गर्दै आएकी सीता बोहोराले आफूले अस्पतालबाट डिस्चार्ज गर्न प्रहरीसँग आग्रह गरेको बताइन् ।
‘प्रहरीले एकदमै राम्रो समन्वय गर्नुभएको छ, सम्भवत आज डिस्चार्ज गरिन्छ होला,’ उनले भनिन् ।
तपाइँको प्रतिक्रीया