२०८२ असार ४ बुधबार

राशिफल

अरिङ्गालले मौरी नष्ट गर्न थालेपछि मौरीपालक चिन्तित

काठमाडौं : गुल्मीको धुर्कोटमा अरिङ्गालले सताउँदा किसान समस्यामा परेका छन् । दिनहुँ अरिङ्गालले माहुरीको घार घेर्ने र माहुरी खान थालेपछि किसान समस्यामा परेका हुन् ।

धुर्कोट गाउँपालिका वडा नं. १ नयाँगाउको खाल गाउँका मौरीपालक किसान निम बहादुर खत्रीले अरिङ्गालले मौरीलाई आक्रमण गर्ने डरले हिजोआज आफू हेरालु बस्नुपरेको गुनासो गर्नुभयो । उनका २४ घार मौरी छन्। खत्रीका अनुसार कालो अरिङ्गाल भन्दा घारमा रातो अरिङ्गालले आतंक मच्चाएको छ । मौरी बचाउनको लागि दिनको ४०० देखि ५०० वटासम्म एक्लैले अरिङ्गाल मारेको उहाँले बताउनुभयो ।

अहिले परिवारका सदस्य मा माहुरीको रक्षाको लागि ड्युटी नै बस्ने गरेका छ्न । हेरालुको आँखा नपरेको एक घारको मौरी अरिङ्गालले सखाप पार्न थालेको छ ।

यस्तै नयाँगाउँकै अन्य माहुरीपालक किसानहरु गुरुप्रसाद पोखरेल,चिरञ्जीवी पोखरेल,बालकृष्ण पोखरेल,सुरज जि सि,बुद्धिराम खत्री,नारायण खत्री,उमादेबी घर्तिले पनि अरिङ्गालले सताएर हैरान बनाएको र आक्रमण नियन्त्रण गर्ने उपाय आफुहरुलाइ थाहा नभएको बताए ।

मौरी पालन व्यवसाय सजिलो र आम्दानी राम्रो हुने व्यवसाय हो । अहिलेको समय माहुरीलाई अरिङ्गालबाट जोगाउन अनिवार्य रुपमा एकजना हेरालु बस्नै पर्ने उनीहरुले बताए । परिवारका अन्य सदस्यले घरको काम गर्ने र आफूले एक्लै माहुरी हेरालु बस्दा अरिङ्गालबाट जोगाउन भ्याइनभ्याइ हुने गरेको मौरिपालक किसानले सुनाए ।

नयाँगाउ खालकै अर्का किसान सुरज जि सि ले पनि अरिङ्गालले माहुरी खाएर साह्रै दुःख दिएको बताए । हुल का हुल अरिङ्गाल आएर घार घेर्ने र कुनै बेलामा त घारभित्रै अरिङ्गाल पसेर माहुरी धपाउने गरेको उनले बताए । उनका अनुसार विगतका वर्षमा यसरी कहिल्यै पनि यति धेरै अरिङ्गालले सताउने गरेको थिएन। अरिङ्गालले गोलो पनि धेरै अग्लो ठाउँमा लगाउने भएकाले नस्ट गर्न ९पोल्न० पनि समस्या पर्ने र होचो ठाउँमा लगाएका केही गोला नस्ट गरेको जि सि बताए।

यस्तै अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–२ का मौरी पालक कृषक चेतनारायण भुसाल,केशव भुसालले मजबुत गोलालाई भन्दापनि कमजोर गोलालाई छिटै अरिङ्गालले सखाप पारेको बताउनुभयो। अहिले जिल्लाको विभिन्न ठाउँमा अरिङ्गालको कारण माहुरीपालक किसान समस्यामा परेका छन् ।