२०८२ असार ३ मङ्गलबार

राशिफल

२ सय वटा टिपर भाडामा लिएर बञ्चरेडाँडामा फोहर फाल्न सुरु

काठमाडौं : केहीबेरको अवरोधपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहर फाल्न सुरु भएको छ । फोहर बोकेर गएको गाडीलाई दिउँसो त्यहाँका स्थानीयवासीले रोके पनि अहिले सुरक्षाकर्मीको उपस्थितिमा फोहर फाल्ने काम चलिरहेको छ ।

काठमाण्डौबाट गएका र नुवाकोटकै गरी दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मीले अहिले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सुरक्षा दिइरहेका छन् । अहिलेसम्म ५५ वटा गाडीभन्दा धेरै फोहर फालिएको नुवाकोट प्रहरीले जनाएको छ । दिउँसो स्थानीयवासीको अवरोध खुलाउन पुगेका प्रहरी र उनीहरूबीच सामान्य झडपसेमत भएको थियो ।

काठमाण्डौ महानगरले आज दुई सय वटाभन्दा धेरै गाडी फोहर बञ्चरेडाँडामा लोड गरेर पठाएको थियो । जसमा अहिलेसम्म ५५ वटाभन्दा धेरै गाडीको फोहर झारिएको छ । बाँकी फोहोर पनि फाल्ने काम चलिरहेको छ । काठमाण्डौ महानगरपालिकाले आज नेपाल टिपर व्यवसायी सङ्घसँग डिजल र चालक भत्ता दिने गरी दुई सय वटाभन्दा धेरै टिपर भाडामा लिएर बञ्चरेडाँडामा फोहर पठाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । अवरोधका कारण भाडाका टिपरले पनि दिउँसो फोहोर फाल्न पाएका थिएनन् । अहिले सुरक्षाकर्मीको सहायतामा फोहर फाल्ने काम भइरहेको उहाँले बताउनुभयो ।

स्थानीय सङ्घर्ष समितिले सरकारसँग सहमति गरेर आन्दोलन फिर्ता लिइसकेको भए पनि आज फेरि केही स्थानीयवासीले फोहर फाल्न अवरोध गरेका हुन् । स्थानीयवासीको आन्दोलनमा सबैजसो दलले पनि साथ दिएका छन् ।