२०८२ असार ३ मङ्गलबार

राशिफल

‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा देशभरका कृष्णमन्दिरमा भक्तजनको भिड (फोटोफिचर)

काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको भिड लागेकाे छ । यस अवसरमा पाटनको मङ्गलबजारकाे प्रशिद्ध कृष्ण मन्दिर, काठमाण्डाैकाे उत्तरपूर्वी भेगमा रहेकाे कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भिड लागेको छ । उत्तरी भेगमा रहेकाे बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भिड लागेको छ ।

#RSS

पशुपति क्षेत्रमा रहेका कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भिड लागेको छ । काठमाण्डाैकाे उपत्यकाका चोक, गल्ली एवम् कुना–कुनामा रहेका कृष्ण मन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको भिड लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् ।

यसै उपलक्ष्यमा काठमाण्डौका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । रथयात्रा भने अष्टमीको भोलिपल्ट निकालिन्छ ।

अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुसीयालीमा भाद्र कृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

व्यास नगरपालिका–३ मा रहेकाे श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक केन्द्रले मौलीमा निकालेको शोभा यात्रामा कृष्ण र राधाको भेषमा सजिएका बालबालिका । 

म्याग्दीको सदरमुकाम बेनीमा रहेकाे लिटल गार्डेन एकेडेमीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज बेनीमा निकालेको रथयात्रामा सहभागी कृष्ण राधाको भेषमा सजिएका बालबालिका । 

लिटल गार्डेन एकेडेमीले बेनीमा निकालेको रथयात्रामा कृष्ण राधाको भेषमा सजिएका बालबालिका । 

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ तनहुँले दमौलीमा निकालेको र्‍यालीमा नृत्य गर्दै महिला । ​