काठमाडौं: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक विभागमा कार्यरत डा. करण साह कुट्ने कर्मचारी धनबहादुर शाही निलम्बनमा परेका छन् । प्रतिष्ठानको शनिबार बसेको कार्यकारी परिषद्को बैठकले शाहीलाई निलम्बन गरेको हो । उनलाई ४५ दिनको लागि निलम्बित गरिएको हो ।
कार्यकारी परिषद्को बैठकले अस्पताल निर्देशक डा. पुजन रोकायाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको रजिष्टार नृपेन्द्र महतले जानकारी दिए । समितिमा डा.पुजन रोकाया, डा. अनुपमंगल समाल र प्रतिष्ठानका कानुनी सल्लाहकार मीनबहादुर महत रहेका छन् । समितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको रजिष्टार महतले जानकारी दिए
डाक्टर कुट्ने कर्मचारी शाही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासन तर्फको चौथो तहको कर्मचारी हुन् । बिहीबार शाहीले आकस्मिक विभागमा आफ्नो छोराको टाका निकाल्न डाक्टर साहसँग आग्रह गरेका थिए । तर सो अवसरमा भएको विवादका कारण शाहीले साहलाई आक्रमण गरेका थिए । शाहीले डाक्टरलाई हातले र लातले समेत कुटेका थिए ।
शाहीले डाक्टरलाई हानेको सीसीटिभीको फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । डा। साह माथिको आक्रमण प्रति विरोध जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले कडा सुरक्षाको माग गर्दै आन्दोलन थालेका छन् ।
उनीहरुले हिजो र आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । भोलि आईसियु,इमरजेन्सी र एनआईसियु सेवा बाहेक सबै सेवा बन्द गर्ने र अर्को दिन सुरक्षाको अनुभूति र पीडकलाई कारबाही नहुँदासम्म पेन डाउन कार्यक्रम गर्ने जनाएका छन् । चिकित्सकहरुको दबाब पछि कार्यकारी परिषद्को बैठक बसेर तत्काल छानबिन समिति गठन गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको रजिष्टार महतले बताए ।
छानबिन समितिको प्रतिवेदनको मर्म अनुसार थप कारबाही अघि बढ्ने उनले बताए । उनले अस्पतालका कर्मचारीले चिकित्सक माथि गरेको आक्रमणको घटनाले प्रतिष्ठानलाई थप गम्भीर बनाएको जानकारी दिए ।
कुट्ने कर्मचारीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
तपाइँको प्रतिक्रीया