काठमाडौँ : बर्खायाम सुरु भएसँगै डेंगु, हैजा, स्क्रब टाइफस, फ्लुलगायत संक्रामक, किटजन्य तथा पानीजन्य रोगहरु बढ्न थाल्दछन् । कोभिड महामारी त छँदैछ । प्रायः जसो यी रोगहरुको लक्षण मिल्दोजुल्दो हुनाले धेरै जना झुक्किने हुन्छन् । कोभिडको डेल्टा भेरिएन्ट बढी नै जटिल लक्षण निम्त्याउने खालको थियो भने अहिले देखिएको ओमिक्रोन भेरिएन्टमा मध्यम लक्षण देखिन्छ जुन रुघाखोकी तथा फ्लुसँग एकदम समान छ ।
फ्लु, रुघाखोकी, कोभिडको लक्षण उस्तै उस्तै हुनाले के भएको हो भन्नेमा तनाव दिन सक्छ ।अझ डेंगुका केही लक्षणहरु पनि यी रोगहरुसँग मिल्दछ । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, आलस्य महसुस हुने, वाकवाकीलगायतका लक्षण कोभिड र फ्लुका साझा लक्षण हुन् ।
फ्लु इन्फ्लुएन्जा भाइरसले गराउँदछ । फ्लुले सबै उमेरलाई प्रभावित पार्ने भए तापनि ५ वर्षमुनिका बालबालिका तथा ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दमरोगी, मधुमेह, क्यान्सर, एचआईभी एड्स, मुटुरोगी आदि उच्च जोखिममा रहन्छन् । नेपालमा जनवरी–फेब्रुअरी र बर्खाको बेलामा जुलाई–अगस्ट फ्लुको सिजन हो । साधारण फ्लुले पनि स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । निमोनियादेखि अस्पताल भर्ना हुने गरी सिकिस्त बनाउन पनि सक्छ । फ्लुबाट बच्न सरसफाइमा ध्यान दिन जरुरी छ । जोखिम समूहले फ्लुको खोप लगाउन सक्छन् । यसले एक वर्षसम्म काम गर्दछ ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार फ्लु र रुघाखोकी धेरै समान छन् । उनी भन्छन्–‘रुघाखोकीमा हनहनती ज्वरो आउँदैन तर फ्लुमा आउँछ । कतिपयलाई एकदमै जिउ दुख्छ तर फ्लुमा त्यति नदुख्न सक्छ । रुघाखोकी अलि मध्यम खालको हुन्छ जसमा नाकबाट पानी बग्ने लक्षणहरु बढी देखिन्छन् । अचानक कामज्वरो जस्तै आउने, जिउ दुखाइ महसुस हुने लक्षण फ्लुका हुन् ।’
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो । एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरु हुन् । यसको लक्षण केही हप्तासम्म देखिए पनि असर भने महिनौंसम्म देखिन सक्ने हुन्छ ।
उनले यी लक्षणहरु मिले पनि समय,ठाउँ, उमेरहदले पनि फरक पार्ने बताए । डा पुनका अनुसार सबैको लक्षण उस्ताउस्तै देखिनाले पुष्टि गर्नका लागि प्रयोगशाला परीक्षण नै आवश्यक छ । ‘लक्षण देखिएमा प्रशस्त झोलिलो खानेकुरा खाने र आराम गर्नुपर्छ । ढुक्क हुनका लागि परीक्षण गर्नुपर्छ । जटिल देखिएमा जचाउन उचित हुन्छ,’उनले भने ।
ekantipur

तपाइँको प्रतिक्रीया