२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रदीप गिरिलाई यसरी सम्झिए नेताहरूले

विभिन्न राजनीतिक पार्टीका नेताहरूले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनबाट देशमा अपूरणीय क्षति भएको बताएका छन् । आइतवार कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको गिरिकाे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता भीमबहादुर रावल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोलगायतले प्रखर समाजवादी चिन्तक समेत रहनुभएका गिरिको निधन देशका लागि ठूलो क्षति भएको बताउनुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरिको बौद्धिक व्यक्तित्व र तर्कशीलता सबैका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो । उहाँले राजनीतिलाई नागरिक र देशकाे सेवा गर्ने माध्यमको रूपमा लिनुपर्ने कुरालाई पनि गिरिबाट प्रेरणा लिन सकिने बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरिको समाजवादी चिन्तनबाट सिकेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालको राजनीति र सामाजिक रूपान्तरणको अभियानमा एउटा निकै ठूलो क्षति भएको मैले महसुस गरेको छु । उहाँ एउटा विशिष्ट प्रतिभासहितको समाजवादी चिन्तक हुनुहुन्थ्यो । उहाँले नेपाली समाजको रूपान्तरणका निम्ति काम गर्नु भयो । उहाँको अभाव धेरै समयसम्म खट्किरहनेछ । प्रदीप गिरिजीको व्यक्तित्वबाट हामी सबैलाई निःस्वार्थ समाजसेवामा समर्पित हुने र राजनीतिलाई फोहोरी खेल होइन एउटा समाज सेवाको, जनता र राष्ट्रको सेवा गर्ने माध्यम हो भन्ने प्रेरणा लिनुपर्छ ।’

एमाले नेता रावलले नेता गिरिलाई एउटा बौद्धिक र लोकतन्त्रका लागि निरन्तर सङ्घर्षरत योद्धाको रूपमा नेपाली समाजले सम्झिरहने बताउनुभयो । कार्यकारी पद र प्रतिष्ठा नभए पनि नेताहरू सम्मानित हुन सक्छन् भन्ने कुरा पनि गिरिले पुष्टि गर्नु भएको उहाँको भनाइ थियो । नेता रावलले भन्नुभयो, ‘बौद्धिक व्यक्तित्व प्रदीप गिरिजीले नेपाली राजनीतिमा निकै ठूलो छाप छोड्नुभएको छ । उहाँलाई लोकतन्त्रका लागि निरन्तर सङ्घर्षरत योद्धाको रूपमा म स्मरण गर्छु ।’

लोसपा नेता राजेन्द्र महतोले गिरिलाई देश र नागरिकप्रति समर्पित नेताको रूपमा चित्रण गर्नुभयो । गिरि सिद्धान्तनिष्ट र आर्दशवादी नेता भएको र उहाँको निधन देशका लागि अपूरणीय क्षति भएको पनि उहाँले बताउनुभयो ।

नेता महतोले देश र नागरिककाे हितका लागि कांग्रेसभित्रै पनि गिरिले पटक–पटक विद्रोह गरेको स्मरण गराउनुभयो ।