२०८२ जेठ २१ मङ्गलबार

राशिफल

लोकसेवा तयारी कसरी गर्ने ? यसो भन्छन् नेपाल सरकारका अधिकृत

भनिन्छ जीवन संघर्ष हो । सफलता प्राप्तिका लागि जोसुकैले संघर्ष गर्नूपर्छ । जो व्यक्ति जीवनमा संघर्ष गर्छ त्यही सफलताको शीखरमा पुग्छ । र, संघर्षले नै जीवनलाई सार्थक तुल्याइदिन्छ । अनलाइन पानाले त्यस्तै सफल व्यक्तिहरूलाई खोज्दै उनीहरूका अनुभूतिलाई समाजमा बाँड्ने प्रयास गरिरहेको छ । जसले गर्दा जीवनसंघर्ष गरिरहेकाहरूलाई प्रेरणा प्रदान होस् । आज हामीले एक जना त्यस्तै प्रेरक व्यक्तिसँग संवाद गरेका छौं । उनी हुन् नेपाल सरकारका छैटौं तहका अधिकृत चित्रराज जोशी । उनीसँग लोकसेवा पास गर्नका लागि कति संघर्ष गर्नपर्यो र कसरी सहज रुपमा लोकसेवाको तयारी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अनलाइनपानाका लागि निर्मला कडायतले संवाद गरेकी छन् ।

कहिले लोकसेवा पास गरेर नेपाल सरकारको छैटौं तहको अधिकृत बन्नुभयो ?

म दुई वर्ष पहिले लोक सेवा पास गर्दै नेपाल सरकारको छैटौं तहको शाखा अधिकृत बनेको हुँ । दुई वर्षदेखि मैले नेपाल सरकारको जागिरे भएर जनताको सेवा गर्ने मौका पाइरहेको छु ।

लोकसेवामा सफलता प्राप्तिका लागि कति संघर्ष गर्नू पर्दो रहेछ ? यहाँको अनुभूति सुनाइदिनु न ?

सफलताको कडि भनेको संघर्ष हो । त्यसैले जीवनको लक्ष्यलाई पहिचान गर्दै त्यसमा निरन्तरता दिनुपर्छ । निरन्तरता दिएर मात्रै हुँदैन । आफूले चालेको बाटोमा म सफलता हाँसिल गर्छु भन्ने ठानेर त्यसमा बलियो मानसिकताका साथ तयारी गर्नूपर्छ । त्यसैमा आफ्नो भविश्य देख्न थाल्नुपर्छ । जस्तोकि लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले यसैमा मेरो भविश्य छ र म अवश्य पनि सफलता हासिल गर्छु भन्ने हेतुका साथ तयारी गर्नुपर्छ । विभिन्न मान्छेले विभिन्न कुरा गरिरहेका हुन्छन् । ती कुराको पछि लाग्नु हुँदैन । आफ्नो प्रयासमा सधैँ अडिग रहनुपर्छ । मैले पढे भने अवश्य नाम निस्कन्छ भन्ने कुरा सम्झिनुपर्छ । र, पढेका कुरालाई स्मरण गर्नूपर्छ ।

लोकसेवा तयारी गरिरहेका साथीहरूलाई के सुझाब दिन चाहानु हुन्छ ?

हामी अरुको लहलहैमा लागेर पढ्ने गर्छौं । त्यस्तो गर्नू हुँदैन । निरन्तर आफ्नै तरिकाले पढ्नुपर्छ । पहिलो प्रयासमै सफलता हात नलाग्न सक्छ । सफल भइन भनेर एकै पटकमा हरेस खानु हुँदैन । आगामी दिनमा पनि निरन्तरता दिँदै जानुपर्छ । आफ्नो मनोबल कमजोर बनाउनु हुँदैन । तनाब लिएर पढ्नु हुँदैन । निरन्तरको प्रयासपछि एक दिन अवश्य सफलता हासिल हुन्छ ।

तपाईंले धनगढीमा लोकसेवा तयारी गरिरहेका विद्यार्थीलाई प्रशिक्षण दिइरहनु भएको छ ? विद्यार्थीको चाहना र मनोभाव कस्तो पाउनुहुन्छ ?

सबै विद्यार्थी पास हुन्छु भनेर नै पढ्न आएका हुन्छन् । उनीहरू चाहना कडा मिहिनेत गर्ने नै हुन्छ । राम्रो मिहिनेत गर्ने विद्यार्थीले नाम निकाल्नु पनि भएको छ । मैले धेरै विद्यार्थीलाई पढाइ सकेको छु । विद्यार्थीहरूले अन्य समयमा त्यति चाँसो नराखेर विज्ञापन खोल्दामात्रै तयारीमा ध्यान दिएको पाइन्छ । विज्ञापन खोलिसकेपछिको छोटो समय तयारीका लागि प्रयाप्त हुँदैन । राम्रो तयारीका लागि सधैँ पढ्ने बानीको विकास गर्नूपर्छ ।

विज्ञापन खोलेको दुई-तीन महिनामै जाँच दिनुपर्ने भएकाले तयारी पुग्दैन । छोटो समयको तयारीमा कतिपय विद्यार्थीहरू नाम निस्केन भनेर निरास बनेर बसेका हुन्छन् । त्यस्तो विलकुलै गर्नू हुँदैन । त्यस्तो गर्दा मनोबल मात्रै खस्किन्छ । सधैँ आफूले तयारी गर्ने हो । जस्तो सुकै अवस्थामा पनि म प्रतिस्पर्धा गर्न तयार छु भन्ने कुरामा केन्द्रित हुने हो । त्यस्ता विद्यार्थीलाई कति जनाका लागि विज्ञापन खुल्यो भन्ने कुराले अर्थ राख्दैन । एउटा क्षेत्रको तयारी गर्दा अरु क्षेत्रमा पनि त्यसले सहयोग गरिरहेको हुन्छ । त्यसैले आफूले प्रतिस्पर्धा गर्नमिल्ने सबै ठाउँमा कम्पिटिसन गर्नूपर्छ । कतै न कतै त अवश्य पनि सफलता मिल्छ ।

तपाईंले आफूले तयारी गर्दा कस्तो तरिका अपनाउनु हुन्थ्यो ?

हामीले अरूको सीप चोर्ने होइन । चोर्न पनि सक्दैनौं । सबैको पढ्ने आ–आफ्नो तरिका हुन्छ । मेरो टेक्निक अरूमा लागू नहुन पनि सक्छ । अरुको टेक्निक मलाई लागू नहुन पनि सक्छ । हामीले पहिला त आफूलाई बुझ्नु पर्छ । आफूमा कति क्षेमता छ भन्ने कुरा जान्नुपर्छ । कति घण्टा पढ्ने ? के पढ्ने ? भनेर मलाई विद्यार्थीहरूले पनि सोधिरहेका हुन्छन् । पढ्ने कुरामा यति घण्टा उति घण्टा भन्ने हुँदैन । आफ्नो क्षेमताले भ्याएसम्म अनुकूलता मिलाएर पढ्ने हो ।

कतिपय विषयको हामी सुत्र बनाएर पढ्न सक्छौं । जसले हामीलाई सम्झन सजिलो होस् । सबैमा सुत्र बनाएर पढ्ने भन्ने नहुन पनि सक्छ । सबैमा फरमूला बनाउनु पनि हुँदैन । अर्को कुरा समसामयीक घटनामा विशेष ध्यान दिनुपर्छ । दिनकै नोट बनाउने बाँनीको विकास गर्नूपर्छ । सबैभन्दा बढी लेख्ने बानीको विकास गर्नूपर्छ । यसले हात छिटो चल्ने र पढेको कुरा स्मरण गर्न सजिलो हुने हुन्छ ।

लोकसेवा भनेर धेरै विद्यार्थीले चिन्ता लिएर पढिरहेको पनि पाइन्छ, त्यस्ता विद्यार्थीलाई के भन्न चाहनुहुन्छ ?

पहिलो कुरा त चिन्ता लिनु हुँदैन । परीक्षा हो । चिन्ता त सबैलाई हुन्छ । तनाव लियो भने त झनै जानेको कुरा पनि मानिसले भूल्छन् । परीक्षा हलमा पनि म पास हुन्छु भन्ने तरीकाले आत्मविश्वासका साथ परीक्षा दिनुपर्छ । त्यसैले चिन्ता भन्ने कुरा कत्ति पनि लिनु नै हुँदैन । अहिले पास नभए पनि अर्को प्रयासमा पास भइहाल्छुनी भन्ने आत्मविश्वासलाई पनि जीवन्त राख्नुपर्छ ।

अब थोरै तपाईंको बारेमा भनिदिनु न– कस्तो पृष्ठभूमिबाट आउनु भएको हो ?

म एकदमै सामान्य पारिवारिक पृष्ठभूमिबाट आएको व्यक्ति हुँ । म सामान्य कृषक परिवारमा हुर्किंए ।म पहाडमा सरकारी स्कुलमा पढेको व्यक्ति हो । पढाईंमा पनि औसत विद्यार्थी हुँ । परिवारमा हामीभन्दा पहिलो पुस्ताको कोही व्यक्ति पनि पढेका थिएनन् । हाम्रो पुस्तामा हामी दाजु–भाइ पढ्यौं । नपढेकै भए पनि बुवाआमाको पुस्ताले हामीलाई पढाइमा निकै सहयोग गर्नू भयो । जसले गर्दा हामी आज यो सफलतामा पुगेका छौं । म औषत विद्यार्थी भए पनि मिहिनेतमा विश्वास गर्ने व्यक्ति हुँ । आज म जुन स्थानमा छु त्यही मिहिनेतका कारण नै छु । जसलाई मैले जीवनभर जीवन्त राख्ने छु ।

तपाईंको आगामी सोच के छ ?

तत्काललाई त्यस्तो सोच त केही छैन । नेपाल सरकारको जागिरे भएर जनताको सेवा गर्ने नै हो । अहिले हाम्रो ऐन आएको छैन । भविष्यमा योभन्दा माथिल्लो स्थरमा जानका लागि प्रतिस्पर्धा गर्ने छु ।

onlinepana