काठमाडौं : थरुहटरथारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको आज सात वर्ष पूरा भएको छ । वि. स २०७२ साल भदौ ७ गते आजकै दिन भएको सो घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले जन्म कैदको सजाय भोगिरहेका छन् ।
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले यस दिनलाई ‘विद्रोह दिवस’का रुपमा मनाउने भएको छ । नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले जेलबन्दीका परिवारलाई सहयोग गरेर विद्रोह दिवसका रुपमा मनाइने जानकारी दिए ।
घटनाको करिब साढे ३ वर्षपछि २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले रेशम चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उनी थुनामै रहेका बेला प्रतिनिधिसभा चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।
टीकापुर घटनालाई थरुहटरथारुवान संयुक्त मोर्चाले भने ‘कालो दिन’ का रुपमा स्मरण गर्दै कार्यक्रम गर्दैछ । थरुहटरथारुवान संयुक्त मोर्चाका संयोजक माधव थारुले घटनाको सम्झनामा टीकापुरको कान्छी बजारमा विरोध सभा आयोजना गरिएको जानकारी दिए ।
तपाइँको प्रतिक्रीया