२०८२ असार ३ मङ्गलबार

राशिफल

सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन सहजीकरण र अनुगमनका लागि समिति गठन

काठमाडौँ : सिसडोल र बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन गर्ने विषयमा सहजीकरण र अनुगमनका लागि उच्चस्तरीय समिति गठन भएको छ । शहरी विकासमन्त्री मेटमणि चौधरीसहित सरोकारवालाबीच भएको छलफलपछि फोहोर व्यवस्थापन र सिसडोल तथा बन्चरेडाँडाका बासिन्दाको माग पूरा गर्ने सन्दर्भमा सहजीकरण तथा अनुगमन समिति गठन भएको हो ।

शहरी विकासमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा काठमाडौं, नुवाकोट र धादिङका सांसद्हरू सदस्यको रुपमा रहेका छन् । काठमाडौंका सांसद् एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार शहरी विकासमन्त्री मेटमणि चौधरीसँग छलफल भएको र त्यसको दीर्घकालीन समाधानका लागि सहजीकरण र अनुगमन समिति गठन भएको जानकारी दिए ।

‘केही दिनदेखि काठमाडौंको फोहोर उठ्न थालेको छ । अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक छ । फोहोर व्यवस्थापनका सन्दर्भमा काठमाडौं महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको छ,’ सांसद् थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘यसबाहेक संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन सकोस् । र, दीर्घकालीन हल खोज्न सकियोस् भन्नका लागि हिजो सहरी विकास मन्त्रीज्यूको समन्वयमा बैठक बस्यो । बैठकले काठमाडौँ, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू सम्मिलित सहजीकरण तथा अनुगमन समिति बनाउने निर्णय गरेको छ ।’

समितिले स्थानीयबासी र सरकारबीच भएका सम्झौताबमोजिमका कामहरू समयमै पूरा गर्न तीनवटै तहका सरकार र निकायहरूसँग समन्वय र सहजीकरण गर्ने जनाइएको छ ।