काठमाडौ : सत्ता गठबन्धनमा मधेस प्रदेशमा सिट बाँडफाँटको सकस देखिएका बेला काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले धनुषा– ३ मा आफ्नो ‘स्ट्रोङ’ दाबी नरहने संकेत दिएका छन् । पाँच दलीय गठबन्धनभित्रको सिट बाँडफाँट र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेट्ने विषयमा आफू बाधक नहुने निधिको भनाइ छ ।
उनी भन्छन्, ‘लोसपालाई गठबन्धनमा ल्याउन म बाधक हो भने धनुषा ३ छोड्न तयार छु । लोसपा मेरै कारणले गठबन्धनमा नआउने स्थिति नहोस् भन्ने म चाहन्छु ।’ तर ०७४ को चुनावमा निधिले धनुषा–३ छोड्न नमान्दा तत्कालीन राष्ट्रिय जनता पार्टीसँग तालमेल नभएको चर्चा भएको थियो । एमाले र माओवादी गठबन्धन गरेर गएका बेला कांग्रेसले तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीलाई समेट्न नसक्दा ठूलो क्षति बेहोरेको थियो । ३२ मध्ये ३० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेस ६ सिटमा मात्र विजयी भएको थियो । प्रदेशका ६४ सिटमध्ये कांग्रेसले ७ सिट मात्र जितेको थियो ।
आगामी आम निर्वाचनमा भने पार्टीले धनुषा– ३ पाँच दलीय गठबन्धनमा जसपालाई छोड्न तयार भएपनि आफ्नो विमति नरहने निधि बताउँछन् । ‘अहिले पाँच दलीय गठबन्धनमा जसपा छ,’ निधि भन्छन्, ‘मधेस प्रदेशमा जसपाको सरकार छ । धनुषा– ३ को सिट जसपालाई दिने चाहना छ भने पनि मलाई आपत्ति छैन ।’ आफ्नो कारण पाँच दलीय गठबन्धनमा पनि समस्या नआउस् भन्नेमा निधि उदार देखिन्छन् । उनले भने, ‘अहिले गठबन्धनभित्र सिट बाँडफाँटमा सकस भइरहेको छ । मेरो कारणले गठबन्धनमा सकस नहोस् भन्ने बुझाउन खोजेको छु ।’
निधिका अनुसार लोसपालाई पनि गठबन्धनमा समावेश गराउने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको चाहना छ । देउवाले त्यसका लागि प्रयास पनि गरिरहेको उनको बुझाइ छ । साथै लोसपालाई पाँच दलीय गठबन्धनमा समेट्न देउवालाई निधिको पनि सुझाव छ । तर ०७४ मा लोसपाका (तत्कालीन राजपा) वरिष्ठ नेता राजेन्द्र महतोले निधिलाई पराजित गरेका थिए । लोसपालाई गठबन्धनमा ल्याउँदा धनुषा ३ कै टिकट दिनुपर्ने भएपनि निधिको आपत्ति हुने छैन । त्यसपछि निधिले आफ्ना लागि भने तीन वटा विकल्प अगाडि सारेका छन् ।
उनले भने, ‘मेरो जन्म र कर्म थलो धनुषा – ३ को विकल्प छदैछ । बाँकी २ वटा विकल्पका लागि पनि म तयार छु ।’ निधिले आगामी निर्वाचनमा समानुपातिक सूचीमा पनि बस्न तयार देखिएका छन् । ‘मैले धनुषा– ३ छोडेपछि यता समानुपातिकमा आउनुपर्यो वा कुनै निर्वाचन क्षेत्र रोज्नुपर्यो । म दुई वटै विकल्पका लागि तयार छु,’ उनले भने ।
धनुषा– ३ को विकल्पमा निर्वाचन क्षेत्र रोज्दा हिमाल र पहाडतिर निधिको नजर छ । ‘हिमाल र पहाडका जिल्लाबाट निर्वाचित हुन मेरो सबैभन्दा ठूलो खुसीको कुरा हुने छ,’ निधिले रातोपाटीलाई भने, ‘यदि कुनै हिमाली जिल्ला वा पहाडको जिल्लाबाट सांसदमा निर्वाचित हुन पाएँ भने अत्यन्तै हर्षित र गौरवान्वित हुने छु । यो मेरो तीव्र चाहना हो ।’ मधेसबाट गैरमधेसी निर्वाचित भएको भन्दै पहाडबाट आफू पनि निर्वाचित हुन चाहेको उनको भनाइ छ । २०३८, २०४३, २०४८, २०५२, २०५६, २०६४, २०७० र २०७४ सालमा गरी नौ पटक आमनिर्वाचन भएको छ । तर मधेसी मुलको नेताले हिमाल–पहाडबाट सांसदको चुनाव जित्न सकेको छैन ।
तपाइँको प्रतिक्रीया