काठमाडौं : भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने प्रष्ट पारेको छ । आज बिहीवार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताउनुभएको हो ।
भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालसहित भारतका विभिन्न ठाउँमा रहेका नेपाली मूलका नागरिकलाई भर्ती गरिन्छ । यसअघि नेपाल सरकारले नेपालीलाई अग्निपथ योजनाअनुसार भर्ती गर्न लागेको हो कि होइन भनेर स्पष्ट नभएकाले अहिले भर्ती स्थगित हुने जानकारी दिएको थियो ।
परराष्ट्रमन्त्री नारायण खड्काले हिजो बुधवार काठमाण्डाैकाे भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर अब भारतीय सैनिकमा नेपालीको भर्ती सन् १९४७ को बेलायत, भारत र नेपालको सम्झौताअनुसार हुने हो कि होइन स्पष्ट हुनुपर्ने बताउनुभएको थियो । परराष्ट्र मन्त्री खड्काले अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताउनुभएको थियो । तर सरकारले यसबारेमा औपचारिक पत्र भने पठाएको छैन ।
गएको असार पहिलो हप्ता भारतले सेनामा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ ‘स्किम’ ल्याएको थियो । साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा अग्निपथ योजनाअनुसार भर्ती हुन पाउँछन् । यो योजनाअनुसार भर्ती हुनेहरूले चार वर्षमात्र सेवा गर्न पाउनेछन् । नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको सम्झौताअनुसार नेपालीहरू भारतीय र बेलायती सैनिकमा भर्ती हुन पाउँछन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा अग्निपथअनुसार नै गोर्खा भर्ती हुने बताए पनि यसबारे नेपाललाई औपचारिक जानकारी भने भारत सरकारले दिएको छैन ।
तपाइँको प्रतिक्रीया