काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई ओशोपार्क नजिकैबाट बिदाई गरेपछि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ भने खानेपानीको पाइप तान्न खोलातिरै फर्किएका छन् । जनगायक जेबी टुहुरेको स्मृतिसभा, प्रदेश नम्बर १ मा कार्यरत माओवादी केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुसँग संयुक्त बैठकलगायत कार्यक्रमका लागि दाहाल शुक्रबार धरान पुगेका हुन् ।
गोर्खा पिस फाउन्डेशन यूके र हर्क साम्पाङ सपोर्ट कमिटीले संकलन गरेको ६३ लाख ३६ हजार ९ रुपैयाँ लागतको खानेपानी ट्यांकी निर्माण र पाइप विस्तारमा उनी व्यस्त भएका थिए । कुल रकममध्ये ७ लाख रुपैयाँको श्रमदान रहेको छ ।
निशाने खोला र सर्दु दोभानमा २ लाख १० हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गरेर त्यहाँबाट पाइप विस्तार गरेर धरान १० र ११ को सिमामा पर्ने स्वस्तिका चोकको खानेपानी ट्यांकीमा झार्ने योजनाअनुसार साम्पाङ शुक्रबार दिनभर पाइप तान्नमै व्यस्त भएका थिए । स्वस्तिका चोकको खानेपानी ट्यांकीमा धरान खानेपानी व्यवस्थापन बोर्डले चारकोशे जंगलको भूमिगत पानीमात्र झार्दै आएको छ ।
विद्युत् र जेनेरेटर अवरुद्ध भएको अवस्थामा उक्त ट्यांकीमा पानी झार्न नसकिने भएकाले सर्दु जलाधारको पानी एकीकृत गरेर सुख्खायाममा पनि धरानका १०, ११, १२, १७, १८ र १९ वडाका खानेपानी उपभोक्ताका लागि वितरण गर्ने योजनाअनुसार काम भइरहेको प्रमुख साम्पाङले बताए । उनले भने, ‘निशाने खोला र सर्दुको पानी १० इन्चे पाइपलाइनमार्फत धरान–१३ ओशोपार्कसम्म ल्याइसकिएको छ । अब चाडै स्वस्तिका चोकसम्म पुर्याउनेछौं ।’
निशाने र सर्दुखोलामा भएको खर्च बाहेक हालसम्म खानेपानीको पाइपलाइन विस्तारका लागि विभिन्न दाताबाट ७१ लाख रुपैयाँ संकलन भइसकेको उनले बताए । उक्त रकमले पाइप खरिद गरेर धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भइसकेको बोर्डका निर्देशक व्यवस्थापक इन्जिनियर राजु पोखरेलले बताए ।
तपाइँको प्रतिक्रीया