२०८२ जेठ २५ शनिवार

राशिफल

विपत्तिको सामना गर्न पाकिस्तानद्वारा थप अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान

काठमाडौं : पाकिस्तानले बाढी/पहिरोको विपत्तिबाट उत्पन्न समस्या सामना गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि आह्वान गरेको छ ।

प्रधानमन्त्री सरिफ सेहबाजले ट्विट गरी निरन्तरको वर्षाले देशभर विनाश निम्त्याएको र राहत तथा उद्धार कार्यमा समेत कठिनाइ भएको बताउनुभएको छ । यसअघि बिहीवार प्रधानमन्त्री सरिफले राजधानी इस्लामाबादमा विभिन्न देशका राजदूत तथा कुटनीतिज्ञसँग भेटेर आफ्नो देशको पछिल्लो विपद् अवस्थाबारे जानकारी समेत गराउनुभएको थियो । साथै सरकारले राष्ट्रिय सङ्कट नै घोषणा गरेको छ । गर्मीको मौसम सुरु भएदेखि नै पाकिस्तानमा वर्षा र बाढीले क्षति पुर्याएको छ ।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन सुरु भएपछि अहिलेसम्म बाढी/पहिरोका घटनामा परि ९ सय ३७ जनाले ज्यान गुमाएका छन् । हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन्। झन्डै ४ लाख घरमा क्षति पुगेको छ ।

घरबारविहीन भएकामध्ये कतिपय अझै पनि अस्थायी शिविरमै छन् । उनीहरुलाई तत्काल सुरक्षित घरको व्यवस्था गर्नुपर्ने चुनौती रहेको संयुक्त राष्ट्र सङ्घको विपद् राहत निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ।