२०८२ जेठ २२ बुधबार

राशिफल

जुससहित सबै चिनीयुक्त पेय पदार्थ धेरै पिउनु अति हानिकारक

चिनीयुक्त पेय पदार्थहरुमा एकदम थोरै वा कुनै पनि पौष्टिक तत्व हुँदैन भने क्यालोरी चाहिँ अधिक हुने गरेको छ जसकारण पनि यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको बताइन्छ । यसबीच एक नयाँ अध्ययनले १०० प्रतिशत फलफुलको जुस भनिएका बोतलका पेय पदार्थले समेत असामयिक मृत्युको खतरा बढाउने पत्ता लगाएको छ ।

यसरी फलफुलकै भनिए पनि प्याक गरिएका जुस खानुले अकाल मृत्युको जोखिम ९ देखि ४२ प्रतिशतले बढाइदिने प्रकाशित एक जर्नल ‘जामा नेटवर्क ओपन’ मा उल्लेख गरिएको छ । अध्ययनका उपप्रमुख जिन ए.वेल्स भन्छिन् , ‘चिनीयुक्त गुलियो पेय पदार्थ चाहे त्यो सफ्ट ड्रिङ्क्स होस् वा फलफुलको जुस, सबै सिमित मात्रामा मात्र सेवन गर्नुपर्छ ।’ उनी अट्लान्टास्थित एमोरी युनिभर्सिटीकी बालविश्लेषक विभागकी असिस्टेन्ट प्रोफेसर हुन् ।

यसअघि गुलिया पेय पदार्थको सेवन कम गराउनकै लागि अमेरिकाका सातवटा शहरमा त्यस्ता उत्पादनहरुमा कर बढाइएको थियो । यसरी सोडा र चिनीयुक्त पेय पदार्थले विशेषगरी बालबालिकामा मोटोपना बढाउने र मधुमेहको जोखिम पनि वृद्धि गर्ने गरेको छ । यस्तोमा नयाँ अध्ययनले पूर्ण रुपमा फलफुलको जुस भएको र कुनै क्रितृम चिनीयुक्त पदार्थ नमिसाइएको (नो एडेड सुगर) भनेका पेय पदार्थ समेत फलदायक नहुने पत्ता लगाएको हो । यसअघिका अनुसन्धानले पनि सफ्ट ड्रिङ्क र जुस मुटु सम्बन्धी रोगसँग सम्बन्धित रहेको देखाएको थियो । वेल्सका अनुसार मोटोपना, मधुमेह र रगतमा बोसोजन्य पदार्थ वृद्धि हुनु अत्याधिक चिनी सेवन गर्नुसँग सम्बन्धित छन् ।

यसकारण पनि यिनमा हुने कृत्रिम चिनीको बढी खपतले मृत्यु दरको जोखिमलाई प्रभावित गर्न सक्ने बताइएको हो ।

यो विषयमा प्रकाश पार्न उनी र उनका सहकर्मीहरुले १३ हजार भन्दा धेरै मानिसहरुमा अध्ययन गरेका हुन् । जसमा दैनिक १० प्रतिशत वा सो भन्दा बढी क्यालोरीका चिनीयुक्त पेय पदार्थ सेवन गर्ने मानिसमा मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम ४४ प्रतिशत रहेको र ५ प्रतिशत भन्दा कम पेय पदार्थ सेवन गर्नेको तुलनामा अन्य स्वास्थ्य समस्याका कारण चाँडै मृत्यु हुने खतरा पनि १४ प्रतिशत रहेको पाइएको हो ।

यसरी प्रत्येक दिन १२ आउन्स ( ०.३५ लिटर) अतिरिक्त फ्रुट जुस पिउने गर्नुले कुनैपनि कारणवश् मृत्यु हुने जोखिम २४ प्रतिशतले उच्च बनाइदिने भनिएको छ । वेल्स भन्छिन्, ‘चिनीयुक्त गुलियो पेय पदार्थ र जुस सम्बन्धी हाम्रो निष्कर्षलाई स्वतन्त्र रुपमा हेर्दा सबैले स्पष्ट हुनुपर्छ कि उल्लेखित जोखिम न्युनतम उपभोग गर्नेलाई पनि लागू हुन्छ ।’

तर पनि उनलाई यो खोजले कुनै आश्चर्य नगराएको बताएकी छन् ।  किनकी यसअघिका अनुसन्धानमा पनि गुलिया पेय पदार्थले इन्सुलिन प्रतिरोध बढाउने गरेको देखाएको छ जसले मुटु सम्बनधी रोगको खतरा बढाउने गर्दछ । त्यस्तै फ्रुक्टोज उपभोगले भने हर्मोनहरुलाई कम्मर वरपर तौल बढाउन सक्रिय पार्छ जसलाई पनि मुटु सम्बन्धी रोग निम्त्याउने अर्को जोखिमदायक पक्ष मानिन्छ ।

१०० प्रतिशत फलफुलको जुस लगायत सम्पूर्ण गुलिया पेय पदार्थ र अल्पकालीन मृत्युबीचको सम्बन्ध अध्ययन गरिएको यो पहिलो अनुसन्धान भएको वैज्ञानिक मार्टा गुआस फिर र डाक्टर फ्रान्क बी.हु बताउँछन् । मार्टा हाभर्डमा न्युट्रिसन विभागकी रिसर्च सायन्टिस्ट हुन् भने डाक्टर फ्रान्क पनि हाभर्डको औषधि विभागका प्रोफेसर हुन् । यसरी फलफुलका जुस अन्य ड्रिङ्कको तुलनामा राम्रो मानिएपनि बालबालिका र तौल नियन्त्रण गर्न चाहने व्यक्तिहरुले यसको सेवन सिमित रुपमा गर्नुपर्ने बताइएको छ । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स र डाएटरीको सुझाव अनुसार १ देखि ६ वर्षका बालबालिकाले दिनमा ५.२ मिलि–लिटर जुस मात्र सेवन गर्नुपर्छ । तर केही फलफुलमा हुने भिटमित र मिनरल लगायत गुणकारी तत्वले फाइदा पनि गराउन सक्ने हुँदा यो विषयमा थप अनुसन्धान आवश्यक रहेको गुआस बताउँछन् । सिएनएनबाट