२०८२ असार ३ मङ्गलबार

राशिफल

‘अफ सिजन’ मा पनि लुक्लामा हवाई उडान बाक्लियो

काठमाडौं: सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडानको सङ्ख्या बाक्लिएको छ । ‘अफ सिजन’मा खुम्बु भ्रमणमा आउने विदेशीको सङ्ख्या बढेसँगै लुक्लामा हवाई उडानको सङ्ख्या बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला सोलुखुम्बुले जनाएको छ । यस वर्ष दैनिक ५ देखि ७ वटासम्म उडान भइरहेको प्राधिकरणका प्रमुख द्वारीका अछामीले बताउनुभयो।

विमानका प्रायजसाे यात्रुहरुमा विदेशी पर्यटकहरु नै रहेको उहाँको भनाइ छ । अछामीले भन्नुभयो–‘अघिल्लो वर्षहरुमा त यो मनसुन सिजनमा मुस्किलले दिनमा एउटा जति मात्रै उडान हुन्थ्यो, तर यो वर्ष त चाप अधिक छ । मौसमले चाँहि अलिक चुनौती दिरहेको छ, नत्र उडान र यात्रुको सङ्ख्या राम्रो छ ।’

पर्यटकको सङ्ख्या बढेसँगै सिजनमा मात्रै उडान भर्ने विमान कम्पनीहरुले समेत अहिले उडान तालिका बनाएका छन् । पर्यटकीय सिजनमा निक्कै व्यस्त हुने यस विमानस्थल ‘अफ सिजन’मा फुर्सदिला हुने गर्थे। ‘स्प्रिङ’ सिजनका रुपमा वैशाख, जेठ, असार र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

सिजनमा पर्यटकले भरिभराउ हुने याे क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ । तर यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटकहरु आइरहेका खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको हो ।

पर्यटक बढेसँगै सगरमाथा क्षेत्रको विमानस्थल, होटल लगायत भ्रमण क्षेत्रहरु समेत चलायमान भएको छ ।