काठमाडौं : नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय परामर्श संयन्त्र बीसीएमको दोस्रो बैठक अस्ट्रेलियाकाे क्यानबेरामा सम्पन्न भएको छ । दुई देशकाे परराष्ट्र विभागको बीसीएमको बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र अस्ट्रेलियलाको तर्फबाट विभागका उपसचिव जस्टिन हेहर्स्टले नेतृत्व गर्नुभएको थियो ।
यसअघि हिजो साेमवार नेपाल र अस्ट्रेलियाबीच जलस्रोतमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएकाे थियो । समझदारीअनुसार अस्ट्रेलियाले नेपालको जलस्रोत व्यवस्थापनमा तालिम र प्राविधिक सहयोग गर्नेछ । बैठकमा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको अस्ट्रेलियामा रहेको नेपाली दूतावासले जनाएको छ ।
यस्तै बैठकमा शिक्षा, ऊर्जा, लगानी, व्यापार, पर्यटनलगायत विभिन्न क्षेत्रमा प्रविधि हस्तान्तरण, बसाइसराइँ, जलवायु कार्यमा सहयोग, प्रकोप जोखिम न्यूनीकरण र अन्य थुप्रै विषयमा दुवै पक्ष उच्चस्तरीय आदानप्रदानलाई प्राथमिकतामा राख्न सहमत भएका छन् । अस्ट्रेलियाले नेपालको व्यापार वृद्धिमा लगानी र सहजीकरण गर्ने तथा प्रविधि हस्तान्तरणको आश्वासन दिएको छ ।
यस्तै नेपाललाई अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्दै परराष्ट्र सचिव पौड्यालले धन्यवाद दिनुभएको छ भने अस्ट्रेलियाका उपसचिव जस्टिनले नेपालसँगको सम्बन्ध सुमधुर रहेकोमा खुसी व्यक्त गर्नुभएको छ ।
तपाइँको प्रतिक्रीया